पाँचथर । जिल्लाको फिदिममा हेल्प टुगेदर फाउन्डेसनले निःशुल्क आँखा शिविर गर्ने भएको छ । हेल्प टुगेदर फाउन्डेसनको आयोजनामा फिदिममा ३ दिने आँखा शिविर आयोजना हुने भएको हो । फिदिम नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क आँखा शिविर आयोजना हुन लागेको हो ।
सो शिविरमा आँखा जाँच, मोतिया बिन्दुको शल्यक्रिया, अन्य सामान्य शल्यक्रिया, ३५ प्रकारका औषधि वितरण, निःशुल्क चस्मा वितरणसहित परामर्श सेवासमेत दिइने फिदिममा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।
शिविरमा ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लाका करिब एक हजार दुई सय लाभग्राहीले सेवा लिने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।
शिविरमा प्राविधिक सहयोग गरेको मेची आँखा अस्पतालका १४ भन्दा बढी चिकित्सकले सेवा दिने फाउन्डेशनका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिए । निःशुल्क आँखा शिविर जिल्ला अस्पतालमा मंसिर २८, २९ र ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया