अलैँचीको मूल्य उच्च विन्दुमा

ताप्लेजुङ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम) को १ लाख ७ हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर २ प्रकारले खरिद बिक्री भइरहेको छ ।

ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन १ लाख ७ हजार र मध्यम गुणस्तरको अलैँची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन १ लाख ४ हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैँची प्रतिमन १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

ताप्लेजुङमा साउनदेखि अलैँची टिपाइ सुरु हुन्छ । लेकाली क्षेत्रहरूमा अहिले पनि टिपाइ भइरहेको छ । मंसिर अन्तिम सातासम्म टिपाइ हुने गर्दछ । साउनदेखि यस वर्ष अलैँची बजारमा आउन थालेको अलैँची व्यवासायीको भनाइ छ । सुरुआती समयमै प्रतिमन ६० हजारभन्दा माथि मूल्य पाइयो । कृषि विज्ञहरूका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछि मूल्य घट्ने सम्भावना हुन्छ । यस वर्षको अवस्थामा भने उल्टो देखिएको छ । मूल्य निरन्तर वृद्धि हुँदै गएको छ । अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले भदौको पहिलो साताबाट बजारमा निस्किएको अलैँचीको मूल्य लगातार बढिरहेको बताए ।

ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने जिल्लामा पर्दछ । यहाँको करिब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करिब ३ हजार मेट्रिक टन अलैँची उत्पादन हुने गरेको छ । (रासस)

प्रतिक्रिया