स्थानीय उपनिर्वाचन : रास्वपाको शक्ति परीक्षण

सम्पादकीय

स्थानीय तहका ४४ रिक्त स्थानमा यही मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका चहलपहल ह्वात्तै बढेको छ । आइतबार उम्मेद्वारहरूको मनोनयन पत्र दाखिला भएसँगै चहलपहल ह्वात्तै बढेको हो । २ वटा जिल्ला समन्वय समिति तथा देशका प्रायः सबै प्रदेशका केही पालिका र वडाहरूमा उपनिर्वाचन हुन लागेको हो । २०७९ सालमा भएको स्थानीय निर्वाचन मार्फत ५ वर्षका लागि चुनिएका प्रतिनिधिहरू विभिन्न कारण रिक्त रहेकोले संविधान बमोजिम उपनिर्वाचन हुन लागेको हो ।

अहिले निर्वाचित प्रतिनिधिहरूको कार्यकाल अब साढे २ वर्ष अर्थात २०८४ वैशाखसम्म हुनेछ । देशका कुल मतदाता मध्ये करिब २ प्रतिशतले उपनिर्वाचनमा भाग लिँदैछन् । यो उपनिर्वाचनमा २ लाख ६६ हजार ८०० मतदाताले प्रतिनिधि चयन गर्दैछन् । जसमध्ये सबैभन्दा धेरै मतदाता कीर्तिपुर नगरपालिकामा छन् । कीर्तिपुर नगरपालिकामा करिब ३१ हजार मतदाता छन् । त्यसपछि दोस्रोमा काठमाडौँ महानगरपालिकाको वडा–१६ मा धेरै मतदाता छन् । यहाँ करिव २१ हजार मतदाता छन् ।

त्यसैले काठमाडौं जिल्लाका पालिका तथा वडामा हुन गइरहेको उपनिर्वाचनप्रति धेरैको विशेष चासो देखिएको छ । उपनिर्वाचन हुन गइरहेका अधिकांश स्थानमा गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । त्यतिबेला नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । यसपटक सबै प्रमुख पार्टीहरू एक्लाएक्लै चुनावमा होमिएका छन् । त्यसकारण पनि यो उपनिर्वाचन अढाई वर्षको अवधिमा दलहरूको शक्ति के कति घटबढ भयो ? भन्ने मापन हुनेछ ।

गत स्थानीय तथा आमनिर्वाचनको मत परिणाम हेर्ने हो भने प्रायः सबैमा मुख्य टक्कर सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच हो । तर काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा–१६ मा भने त्रिकोणात्मक टक्कर हुने अनुुमान लगाउन सकिन्छ । यी दुवै स्थानमा नेपाली कांग्रेसले जितेको थियो । तर काठमाडौं महानगरपालिका–१६ बाट मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन शाहले प्रतिस्पर्धीभन्दा करिब दोब्बर मत ल्याएका थिए । यसैगरी गत आमनिर्वाचनमा रास्वपाका उम्मेद्वार गणेश पराजुलीले पनि प्रतिस्पर्धीभन्दा करिव दोब्बर मत प्राप्त गरेका थिए । त्यसैगरी गत आमनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा रास्वपाले समानुपातिकतर्फ कांग्रेस र एमालेको सरह मत प्राप्त गरेको थियो । तर यसपटक रास्वपाले स्वतन्त्र उम्मेद्वार राजमान महर्जनलाई साथ दिने निर्णय गरेको छ । महर्जन सफाइ अभियान्ता हुन् । आफूले चुनाव जित्नभन्दा पनि कांग्रेस र एमालेलाई हराउने रणनीति रास्वपाले लिएको देखिन्छ ।

कुल मतदातामध्ये करिब २ प्रतिशतले भाग लिन गइरहेको र ७ वटै प्रदेशका कुनै न कुनै स्थानमा उननिर्वाचन हन गइररहेकोले यो एक प्रकारको मिनी जनमत संग्रहजस्तै हो । अढाई वर्षको यो अवधिमा मतदाताको मानसिकता के कति परिवर्तन भयो ? भन्ने मापन गर्दै आगामी स्थानीय र आमनिर्वाचनको संभावित रुझान आँकलन गर्न सकिन्छ । उपनिर्वाचन हुन गइरहेका ४४ स्थान मध्ये दूरदराजका स्थानहरूमा केही न केही सत्ताको प्रभाव पनि पर्न सक्छ । तर, राजधानी काठमाडौंमा भने सत्ताधारीहरूले आफ्नो प्रभाव पार्ने संभावना कम रहन्छ । अहिलेसम्मका अनुभवले यही देखाएको छ । सहरी क्षेत्रको रुझान सत्ताको विपक्षमा प्रकट हुने गरेको देखिएको छ । गत स्थानीय तथा आमनिर्वाचनमा यो तथ्य अझै बढी उजागर भएको थियो । विशेष गरी गत आमनिर्वाचन तथा त्यसपछिको उपनिर्वाचनमा सहरी क्षेत्रबाट उल्लेख्य सफलता हासिल गरेको नवोदित पार्टी रास्वपाका लागि यो उपनिर्वाचन शक्ति परिक्षण हो । उसले भन्दै आएको मिसन २०८४ को नारा के कति यथार्थको नजिक छ ? भन्ने आँकलन उपनिर्वाचनको परिणामले गर्न सकिन्छ ।

प्रतिक्रिया