चुलाचुलीमा १५ शय्याको अस्पताल निर्माण

इलाम । जिल्लाको चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु गरिएको अस्पतालको भवन निर्माण पूरा भएको हो । संघीय सरकारको सहयोगमा १२ करोड ९० लाख रुपैयाँको लागतमा सुविधायुक्त अस्पताल निर्माण पूरा भएको अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । १५ कठ्ठा १० धुर क्षेत्रफलमा ३ तलाको अस्पताल निर्माण गरिएको हो । अस्पताल भवन निर्माणसँगै २ मंसिरदेखि २४सै घण्टा सेवा प्रवाह गर्ने गरी औपचारिक उद्घाटनको तयारी गरिएको अध्यक्ष केरुङले बताए ।

यसैबीच अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुली गाउँपालिकाले ‘समावेशी श्रीमद्भागवत सप्ताह महापुराण’ आयोजना गरेको छ । अस्पताल परिसरमा आयोजना गरिएको महापुराण आउँदो २ मंसिरसम्म सञ्चालन हुने पुराण व्यवस्थापन समिति संयोजक जनक कोइरालाले जानकारी दिए । महापुराणमा मुख्यगरी हिन्दु, बौद्ध र किरात धर्मका धर्मगुरुले कथावाचन एवं प्रवचन दिने उनले बताए ।

गाउँपालिकामा पहिलोपटक १५ शय्याको अस्पताल निर्माण गरिए पनि सञ्चालनका लागि आर्थिक समस्या भएकाले आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहितको समावेशी महापुरण आयोजना गरिएको गाउँपालिका अध्यक्ष केरुङले बताए । ‘अस्पतालको भवन निर्माण भइसकेको छ, तर उपकरण खरिद र जनशक्ति व्यवस्थापनमा आर्थिक समस्याका कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन’, अध्यक्ष केरुङले भने, ‘अस्पताल सञ्चालन गर्न सहयोग जुटाउने उद्देश्यका साथ महापुराण आयोजना गरिएको छ ।’ महापुराणबाट संकलित रकमबाट अस्पताल सञ्चालनका लागि छुट्टै दिगो अक्षयकोष स्थापना गरिने उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले अस्पतालन सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चतता गर्न अक्षय कोषका लागि महापुराण आयोजना गरिएको बताए । ‘अस्पताल सञ्चालनको सबै खर्च गाउँपालिकाले नै बेहोर्नुपर्ने हुन्छ’, उनले भने, ‘गाउँपालिकाले धान्न नसकिने भएकाले अक्षयकोष बनाउन महापुराण आयोजना गरिएको हो ।’

महापुराणमा श्रीमद्भागवत कथा, पाठपारायणसँगै नियमित रूपमा भजनकीर्तन, चर्चित धार्मिक प्रवचक राधिका दासी, केवलकृष्ण अधिकारी, मुन्धुम अध्येता चन्द्रकुमार शेर्मासहित विभिन्न धर्मगुरुहरूबाट आलोपालो गरी फरकफरक दिन प्रवचन सुनाउने व्यवस्था मिलाइएको पुराण व्यवस्थापन समिति सचिव विवश बलिभद्र कोइरालाले जानकारी दिए ।

विभिन्न जातजाति, भाषाभाषी र धर्मानुरागीहरूको सम्मिश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सद्भाव र एकताको सन्देश दिनका लागिसमेत महापुराणले योगदान पु¥याउने गाउँपालिको अपेक्षा रहेको अध्यक्ष केरुङको भनाइ छ ।

प्रतिक्रिया