रुपन्देहीबाट १ सय १२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजश्व टोलीमाथि ढुंगामुढा प्रहार

रुपन्देही । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट बिहीबार सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो । बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भीडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजश्व अनुसन्धन कार्यालय बुटवलमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त भीडले ढुंगामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लुम्बिनीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया