बझाङ । बझाङमा १६७ जना एचआइभी संक्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी संक्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् ।
तथ्यांक अनुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुंगल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा ९, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी–टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए ।
उनका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उनले बताए । ‘जिल्लामा देखिएको तथ्यांक अनुसार सबै जिल्लामा छैनन्’, उनले भने, ‘कतिपय संक्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ ।’
तथ्यांक अनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार नौ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिए ।
परियोजना संयोजक लोकेन्द्र पन्तले संक्रमित भएका बिरामीको नियमित उपचारका साथै सीमान्तकृत समुदायका व्यक्तिलाई संस्थाले सहयोग गरिरहेको बताए । उनले भने, ‘समुदायमा पछाडि परेका, पारिएका, भूमिहीन वर्ग, बालबालिका, दलित, जनजाति महिला – पुरुषलाई शैक्षिक, सामाजिक र आर्थिक रूपमा समान अवसर दिलाइ क्षमता अभिवृद्धि तथा अन्य सामाजिक सुधारात्मक कार्यमा सुधार ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’
उनले जिल्लामा कार्यक्रम लागू भएका पालिका तथा समुदायमा एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थायी साधन वितरण गर्दै आएको बताए ।
प्रतिक्रिया