तिहारका नाममा बढ्दो विकृति

सम्पादकीय

नेपालीहरूको महान चाड तिहार नजिकिँदै गर्दा भारतबाट धमाधम अबैध रूपमा पटका आयात हुन थालेको छ । चाडपर्वमा पटका पड्काएर मनोरञ्जन गर्ने परम्परा नेपाली समाजमा थिएन, भारतमा भने अंग्रेजको शासनकालदेखि नै यस्तो चलन थियो । पछिल्ला केही दशकदेखि चाडपर्वमा पटका पड्काउने चलन तराई क्षेत्र हुँदै पहाडका सहरी क्षेत्रमा समेत प्रवेश गरिसकेको छ । नेपालमा पटका पड्काउन प्रतिबन्ध भएकोले आयात पनि प्रतिबन्ध छ । तर, दक्षिणतर्फको खुला सिमनाका कारण भारतबाट अवैध रूपमा ठूलो परिमाणमा पटकामा आयात हुने गरेको छ ।

आयात प्रतिबन्ध भएका कारण भारतमा भन्दा ५–७ गुणा बढी मूल्यमा पटका बिक्री हुन्छ । जसका कारण खुद्रा व्यापारीहरूले समेत लुकिछिपी पटका बेच्ने गरेका छन् । त्यसैले तराईको भारतीय सीमा क्षेत्रमा डिउटी गर्ने प्रहरीलाई तिहारको बेला पटका आयात नियन्त्रणमा ठूलो समस्या पर्ने गरेको छ । गस्ती गरेर साध्य नै नभएको डिउटीमा खटिएका प्रहरीले बताउने गरेका छन् । गत शुक्रबारसम्म मधेस प्रदेशका ८ जिल्लामा गरी करिब १६ लाख रुपैयाँ मूल्य बराबरको पटका बरामद गरिएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीले जनाएको छ ।

यसैगरी गत शुक्रबार काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ठूलो परिमाणमा पटकासहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ । पेन्टा कलेक्सन ४ प्याकेट, फ्लोर सर्ट २ प्याकेट, फ्लाइङ सर्ट ३ प्याकेट, १२ सुट ५ प्याकेट, ३० सुट ७ प्याकेट, ६० सुट २ प्याकेट, ७ कलर सुट ८ प्याकेट, कक्टेल बार २ प्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

राजधानी काठमाडौँमा तोप र अन्य गाउँठाउँमा राज्यको इजाजत प्राप्त भरुवा बन्दुक पड्काएर तिहारको पूजा तथा भाइटीकाका साइत सुरु भएको जनाउदिने नेपालको पुरानो चलन हो । तर, अहिले यो चलन हराउँदै गएको छ । त्यसको सट्टा जथाभावी पटका पड्काउने चलन भित्रिएको छ । खासगरी केटाकेटीहरूले खेलौनाका रूपमा पटका पड्काउने गरेकोले तिहारका बेला दुर्घटनाका समाचार आउने गरेका छन् । प्रहरीले पटका बरामद गरिएको समाचार जति धेरै प्रवाह गरे पनि, तिहारको बेला घरघरमा केटाकेटीहरूले पटका पड्काउने विकृतिमा खासै कमी आउन सकेको छैन ।

खासगरी प्रहरीकै घरका केटाकेटीहरूले बढी पटका पट्काउने गरेको छिमेकीहरूको सिकायत हुने गरेको छ । बरामद गरिएका पटका कतिपय प्रहरीले आफ्नो घरमा लगेर पड्काउने गरेकोले छिमेकका केटाकेटीहरूले पनि त्यसको सिको गर्नु स्वभाविकै हो । यो मामिलामा अविभावकहरूको कमजोरी त हुँदै हो, बढी मुनाफा हुने लोभमा गुपचुप रूपले पटका बेच्नु खुद्रा व्यापारीहरूको पनि कमजोरी हो ।

चाडपर्व भनेका देशका सांस्कृतिक पहिचान हुन् । सांस्कृतिक पहिचानको संरक्षण गर्नु सबैको कर्तव्य हो । तर, हाम्रा कतिपय चाडपर्वमा विदेशीको चलन अनुसरण गरिएकोले मौलिकता संकटमा परेको छ । खासगरी तिहारको मौलिकता संकटमा छ । तिहार पर्वको नामलाई नै ध्वस्त बनाएर दीपावली, दियाली वा देवाली भन्न थालिएको समेत भेटिएको छ ।

तिहारमा पटकामा पड्काउने चलनले त हाम्रो मौलिकता मात्रै समाप्त पारेको छैन, पटका अयातका लागि ठूलो धनराशि बिदेसिने गरेको छ । अझ डरलाग्दो आँकडा के छ भने तिहारका लागि भाइ मसला भन्दै करिब २ अर्ब रुपैयाँको मिठाई तथा खाद्य परिकारहरू हरेक वर्ष औपचारिक रूपमै नेपाल भित्रिने गरेको छ । अनौपचारिक रूपमा यो भन्दाबढी भित्रिने गरेको छ ।

तिहारका बेला दिदीबहिनीको हातबाट दाजुभाइले सेलरोटी, अर्शा, अनरसा लगायतका ताजा परिकारहरू खाने हाम्रो मौलिकता हो । तर, भाइ मसलारूपी ऐँजेरु पलाएका कारण हाम्रो मौलिकता नष्ट भएको मात्रै छैन, मुलुकले आर्थिक रूपमै ठूलो क्षति बेहोर्नुपरेको छ । चाडपर्व मनाउने हामी, तर आर्थिक रूपमा मोटाउनेहरू विदेशी ? कत्रो ठूलो विडम्वना ।

प्रतिक्रिया