धनुषा । मधेस प्रदेशका जिल्लामा ८७४ जना नयाँ कुष्ठरोगी फेला परेको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयले ससाकावा फाउन्डेसन र नेपाल कुष्ठ रोग संस्थाको सहयोगमा जनकपुरधाममा आयोजना गरेको कुष्ठ रोग प्रभावकारी नियन्त्रणसम्बन्धी कार्यक्रममा निर्देशनालयका क्षय कुष्ठ रोग शाखाका प्रमुख राजवीर यादवले २०८०/०८१ मा उक्त संख्याका नयाँ रोगी फेला परेको जानकारी दिए ।
कुष्ठरोगको क्षेत्रमा औषधि सहितका विश्वमा नै कुष्ठरोगीको पुनस्र्थापना सहितको क्षेत्रमा समुदायमा सहयोग गर्दै आएको जापानको सासाकावा फाउन्डेसनको प्रतिनिधिहरूको सहभागितामा रहेको सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यादवले अहिले प्रदेशको सप्तरी बाहेक ७ जिल्लामा नयाँ र पुरानो गरेर १ हजार १० जना कुष्ठरोगीहरू स्वास्थ्यकर्मीको निगरानीमा औषधि नियमित रूपमा खाइरहेको जानकारी दिए ।
नेपालमा २ हजार ५२२ जना कुष्ठरोगी रहेकोमा त्यसको ३७ प्रतिशत रोगी मधेस प्रदेशमा नै रहेका छन् । सामाजिक मान्यता तथा रुढीबाढीका कारणले धेरैले कुष्ठरोग लुकाएर बसेका कारणले यो संख्या अझै बढी समुदायमा हुने अनुमान मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजीवकुमार झाको रहेको छ ।
खोजतलासको काम घरघरमा गर्न जरुरी रहेको उनले बताए । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम कुष्ठरोगी भएपछि मात्र कुष्ठरोग उन्मूलन भएको मान्ने विश्व स्वास्थ्य संगठनको गाइडलाइन रहेको छ । नेपालका ३४ जिल्ला पूर्ण रूपमा कुष्ठरोग उन्मूलन भएको जिल्ला भए पनि अन्य जिल्लाहरूमा रोगी रहेको पाइन्छ ।
प्रतिक्रिया