जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका सबै थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ । सोमबार बिहान ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको थियो ।
सो मध्ये १ जना जनकपुरधामको जनकचोकबाट तत्कालै पक्राउ परेको थियो भने सोमबार रातीसम्म सबैजना पक्राउ परिसकेको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले बताएका छन् । प्रदेश प्रहरी, धनुषा र महोत्तरी प्रहरी, अनुसन्धान, सशस्त्र प्रहरी र सीमा सुरक्षाबलको सहयोगले सबै फरार थुनुवाहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा सोमबार बिहान करिब सवा ३ बजे हिरासत कक्षको भेन्टिलेसन फोडेर ९ जना थुनुवा फरार भएका थिए । फरार मध्येका ५ जना लागुऔषध मुद्दाका अभियुक्त हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् ।
उनीहरूमध्ये अभद्र व्यवहारको महोत्तरीको जलेश्वर नगरपालिका–५ बस्ने श्याम झा भने जनकचोकबाट पक्राउ परिसकेका थिए । अमित कुमार झा, रन्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् । यस्तै, सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि रहेको भेन्टिलेटरको रड काटेर थुनुवाहरू फरार भएका थिए । थुनुवाले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेको खुलेका छ । थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेड उनीकहाँ कसरी पुग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिए ।
थुनुवाहरूको कक्षसम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौँसम्म रड काट्न समय लाग्ने भए पनि प्रहरीले सुइँकोसम्म नपाउनुजस्ता विषय शंकास्पद रहेका छन् ।
प्रतिक्रिया