राजपुरमा हैजाको प्रकोप, वडा–४ सिल

रौतहट । जिल्लाको राजपुर नगरपालिका–४ मा हैजाको प्रकोप देखिएपछि उक्त वडालाई सिल गरिएको छ ।
२ असोजदेखि हैजा डायरियाको प्रकोप दिनप्रतिदिन बढ्दै गएकोले संक्रमण नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले सो वडालाई सिल गरेको हो ।

राजपुर नगरपालिकाको आग्रहमा महामारी रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले वडा–४ जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलिहानदेखि डाक्टर नुरुल होदाको घरसम्म वरिपरिको क्षेत्र असोज ६ गतेदेखि अर्को आदेश नआए सम्मका लागि सिल गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

असोज २ गते १ जनामा डायरिया देखिएकोमा ६ गतेसम्म ६२ जना संक्रमित भइसकेकोले महामारी नियन्त्रण गर्नको लागि सो वडा सिल गरिएको बताइएको छ ।

तोकिए बमोजिमको क्षेत्रहरूमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी र अत्यत जरुरी कामबाहेक कुनै पनि व्यक्तिको हिँडडुल गर्ने र एकअर्काको घरमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ ।

अतिआवश्यक सेवा बाहेकका सवारी साधनलाई आवागमनमा सो अवधिभरिका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा सिल गरिएको क्षेत्रमा माछा मासु ओसारपसार र बिक्री वितरणमा समेत रोक लगाएको छ ।

डायरियाको संक्रमणको कारण यकिन साथ पुष्टि हुन नसकेकोले राजपुर नगरपालिकाका नगरप्रमुख डाक्टर राजिक आलमले व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रहसमेत गरेका छन् ।

नगरप्रमुख डाक्टर आलमका अनुसार ६२ जना बिरामी मध्ये ४० जना उपचारपछि घर फर्किसकेका छन्, भने २२ जनाको राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

भन्सार चोरी निकासीको कार्यमा संलग्न ६ जनामाथि कारबाही

जिल्ला प्रहरी कार्यालय रौतहटले सीमा क्षेत्रमा हुने भन्सार चोरी निकासी पैठारीको कार्य नियन्त्रण गर्नका लागि ६ जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरेको छ ।

भारतबाट राजस्व छली गरी नेपाल ल्याएका विभिन्न सामग्रीसहित प्रहरीको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भन्सार चोरी निकासी पैठारीको कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले भदौ १३ गते गौरनगरपालिका–१ बस्ने ३४ वर्षीय राजेश कुमार पासवान, भदौ २७ गते सो वडामा बस्ने २८ वर्षीय रविन्द्रकुमार यादव, गौर नगरपालिका–२ बस्ने १८ वर्षीय गणेश भारती, गौर नगरपालिका–४ बस्ने २२ वर्षीय रविन्द्र साह, भदौ २८ गते गौर नगरपालिका–५ बस्ने २७ वर्षीय मुकेशकुमार महतो र असोज ६ गते ईशनाथ नगरपालिका–५ लक्ष्मीनिया टोल बस्ने लम्बू भन्ने शेख सफरुललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताएकी छन् ।

भन्सार चोरी निकासी पैठारीको कार्यमा संलग्न नहुनु भनी आग्रह गर्दा पनि अवज्ञा गरेका कारण पक्राउ गरी कारबाही गरिएको प्रहरीको भनाइ रहेको छ । पक्राउ परेको माथि अभद्र व्यवहार मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया