विल्मिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो प्रतिष्पर्धी वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँगको दोस्रो प्रत्यक्ष बैठकको प्रस्ताव अस्वीकार गरेका छन्् ।
उनले केही राज्यहरूमा पहिले नै प्रारम्भिक मतदान भइरहेको हुनाले बहसका लागि धेरै ढिलो भइसकेको बताएका हुन् ।
ट्रम्पले प्रस्ताव अस्विकार गरेको अघिल्लो दिन ह्यारिसले अक्टोबर २३ को बहसका लागि प्रसारणकर्ता सिएनएनको निमन्त्रणा स्वीकार गरेको बताएकी थिइन् । यदि बहस भएमा सेप्टेम्बर १० मा भएको प्रत्यक्ष बहसपछि दुई प्रतिष्पर्धी उम्मेदवारबीचको यो दोस्रो बहस हुनेछ ।
‘अमेरिकी जनतासँग उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पको अर्को बहस हेर्न पाउने अधिकार छ,’ ह्यारिसको चुनावी अभियानका अध्यक्ष जेन ओमाले डिलनले एक विज्ञप्तिमा भनिन् ।
‘मलाई आशा छ ट्रम्प मसँग बहसमा सामेल हुन तयार हुनुहुनेछ,’ ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेकी थिइन् ।
उत्तरी क्यारोलिनाको एक चुनावी र्यालीमा ट्रम्पले आफू बहसका लागि इच्छुक रहेको तर केही राज्यहरूमा प्रारम्भिक मतदान सुरु भइसकेकाले धेरै ढिला भइसकेको बताएका थिए ।– रासस, एएफपी
प्रतिक्रिया