बगरले रुवायो, बगरले हँसायो !

महोत्तरी । भनिन्छ– ‘सय वर्षमा त खोला पनि फर्कन्छ ।’ तर, महोत्तरीको भंगाहा–६ हतिसर्वाका पर्सा र संग्रामपुर बस्तीका बासिन्दालाई आफ्नो जग्गा बगर बगाउने ‘रातु भँगालो’ को पीडा भुलाउन सय वर्ष पर्खिनुपरेन । २०३० सालको बाढीले बगर बनाएको जग्गा यहाँका बासिन्दाले ४ दशकलगत्तै फेरि जोडतोड गरेर फेरि हराभरा बनाएका छन् ।

५ दशकअघि खेत बगर बन्दा रोएका किसान अहिले त्यही बगर सुमसुम्याएर सन्तोषको सास फेर्दै छन् । बगर सुमसुम्याउन थालेको १ दशक ननाघ्दै पर्सा र संग्रामपुरका किसानले बगरलाई बगैँचा बनाउँदै तरकारी खेतीले सजाएका छन् ।

बगरमा अहिले आँप, लिची, सपाटो र कागतीसहितका फलका रूख हुर्केका छन् । यी फल मौसमअनुसार फल्न थालेको ५ वर्ष नाघेको छ । बगैँचाभित्र मौसमअनुसारका तरकारी फलेका छन् । कुनै टिप्ने भइसकेका, कुनै फुल्दै र चिचिलाले भरपूर । परबल, लौका, फर्सी, करेला, घिरौँला र झिमनीका बग्रेल्ती लहरा । नदीउकास गेग्य्रान ठाउँ अहिले किसानको मिहिनेतले हराभरा छ । ‘बगर बगैँचा र बगैँचामा खेती’ ले किसानको जीवन फेरिएको छ ।

२०३० सालको बाढीले बस्ती नजिकको उब्जाउ जग्गा रातु नदीले बगर बनाइदिँदा सुकुमबासी बनेका पर्साका आदिबासी थारू समुदायले अहिले पनि त्यो आपत् भुलेका छैनन् । ‘छँदाखाँदाको हाम्रो जग्गा बगर बनेपछि हामी किसानबाट बनिहारा (खेतीपातीका काम गर्ने मजदुर) बन्यौँ, रातारात सुकुम्बासी बनियो,’ विगतका दुःख सम्झँदै पर्सा बस्तीका रामनारायण सिंह थारू भन्छन्, ‘पछि २०६४ सालयता सरकारले पूर्वपश्चिम राजमार्गमुनि रातुका दुईतिरका भँगाला तटबन्ध गरेपछि हाम्रो बगर बनेको जग्गा उकास बन्यो ।’ भँगालो बाँधिएर जग्गा उक्से पनि गेग्य्रान थुप्रिएको जग्गा सखार्न आफूलहरूलाई सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासले उत्प्रेरित गरेको पर्सा र संग्रामपुरका बासिन्दा सम्झिन्छन् ।

अहिले पर्सा बस्तीका गृहिणीको दैनिकी बगर पुगेपछि सुरु हुन्छ । झरेका पातपतिंगर रूख बिरुवाको फेदमा ओछ्याउने, झार उखेल्ने, आँप र अन्य फलफूललका बोट सुमसुम्याउने, रुखिएका बोटमा पानी हाल्ने, तरकारी टिप्ने, तरकारी लिन आएका व्यापारीलाई उत्पादन दिने र हिसाब मिलान गर्ने यहाँका गृहिणीको दैनिक काम बनेको छ । २–४ पैसाका लागि पतिको मुख ताक्ने थारू गृहिणी अहिले कम्मरमा भुन्डिएको थैलीमा सधैँ २÷४ हजार राख्न सक्ने बनेका छन् ।

‘अब दुःखका दिन बिर्संदै गएका छौँ, अचेल सधैँ काम छ । दिनहुँ तरकारी, फलफूल बेचेको पैसा हात पर्छ,’ पर्साकी वृन्दा हुजदार थारू भन्छिन्, ‘दिनहुँ पालो लगाएर तरकारी टिपिन्छ, परवल, लौका, फर्सी, करेला, झिमनी, भिण्डी, काँक्रा र खोर्सानी, भ्याइनभ्याइ हुन्छ ।’ अब त पतिहरू जरुरी पर्दा ‘तिम्रो थैली हेर हेर’ भन्न थालेको त्यहाँका गृहिणीहरू सगर्व बताउँछन् । पर्सा र संग्रामपुरका १०८ परिवारको घर गुजारा, नानीहरूको पठनपाठन, स्वास्थ्योपचार र चाडपर्व अहिले यही बगरले थेगेको छ । एक समय घर गुजाराकै लागि मालिकको खेतबारीमा काम गर्न जाने आफूहरू अब आफ्नै कामले फुर्सद नभएको बगर खेतीका किसान खुसी हुँदै बताउँछन् ।

रातुको पश्चिमी भँगालोको बाढीले जग्गा काटेर बलौटो थुपारेपछि पर्साका आदिवासी थारूहरू लालपुर्जामा जग्गा भए पनि सुकुमबासी भएका थिए । ‘लालपुर्जा (जग्गाधनी प्रमाण पुर्जा) हुँदाहुँदै हामी नांगा भयौँ । बाढीले अर्काको खेतबारीमा मजदुरी गरेर जीवन धान्नुपर्ने बनायो,’ विगत भोगाइ कोट्याउँदै पर्सा बस्तीका ६५ वर्षीय रामनायण सिंह थारू भन्छन्, ‘धन्न सामुदायिक विकास तथा पैरवी मञ्चले हाम्रो आँखा खोलिदियो र बगर सम्याएर खेती गर्न थाल्यौँ ।’ पूर्वपश्चिम राजमार्गको रातु पुलमुनि खोलाका ३ भँगाला बनेर पश्चिमी भँगालाले आफूहरूलाई सुकुमबासी बनाएको विगत सम्झिँदा अहिले पनि सिंहका आँखाका डिल आँसुका ढिकाले ढलपलिन्छन् ।

२०६४ सालयता रातु पुलमुनि जनताको तटबन्ध कार्यक्रमले नदीका ३ भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि नदीउकास भएको त्यहाँको बगरमा पैरवी मञ्चले बगर खेती गर्न किसानलाई उत्साहित बनाएको हो । पैरवी मञ्चको उत्प्रेरणाले २०७१ देखि बगर खोस्रिन थालेका यहाँका आदिवासी थारू अहिले अब्बल किसानमा दरिएका छन् ।

नदीले छाडेको जग्गा पुरानो लालपुर्जाका आधारमा पैरवी मञ्च र भंगाहा नगरपालिकाको कार्यालयले नापजाँच गर्ने प्राविधिकबाट छुट्याइदिएपछि किसान आआफ्नो सीमाभित्र खेती गर्न लागेका हुन् । पहिलेको बगर अब हराभरा बनेको छ । नदीउकास जग्गामा अहिले मालदह, बम्बै, दसहरी, कलकतिया र जर्दा जातका १८ हजार आँपका रूख हुर्केका छन् । यी रूखमा फल लाग्न थालेको पनि ४/५ वर्ष भइसकेको छ ।

बगैँचामा आँपबाहेक कटहर (रूख कटहर), लिची, कागती र सपाटो फलका रूख छन् । रातु भँगालाको पहिलेको बगर अहिले किसानको पौरखले हाँसेको छ । बगरैभरि बगैँचा, बगैँचाभित्र तरकारी खेती । कतै घिरौँला त कतै फर्सीका हरिया कैँडा । माचमा लौका भुन्डिएका छन्, कतै भिन्डी बोटभरि हुर्किंदै छन् । पुरानो रातु बगर अहिले किसानको मिहिनेतले लहलहाएको छ ।

संग्रामपुर र पर्साका किसानले पहिलेको बालुबुर्ज २५६ बिघा बलौटे जग्गा खनीखोस्री गरेर नंग्रा खियाउन लागेको झन्डै एक दशक नाघेको छ । प्रारम्भका १–२ वर्ष त बगरका ढुंगा छेउ लाउँदै बितेको किसान बताउँछन् । तेस्रो वर्षदेखि बल्ल बगर हरियो देखिन लागेको बगर खेतीमा रमाएका संग्रामपुरका जासर यादव बताउँछन् । समयसमयमा रोगब्याधले उत्पादन बजार पु¥याउन दुःख दिए पनि ती दुःखका दिन पनि कटेको उनको भनाइ छ । कोरोना कालमा पाएको सास्ती यहाँका किसानका लागि पीडादायी सम्झना बनेको छ ।

बगरमै भंगाहा–७ का भूमिहीन दलितले पनि पछिल्लो ७ वर्षयता तरकारी बाली लगाएर आर्जन गर्दै आएका छन् । विगतको यो बगर अहिले किसानको मिहिनेत र लगनले ‘सुन’ फल्न लागेको हेर्न जानेको प्रतिक्रिया छ । बगर खेतीका किसान अहिले आफ्नो घर खर्च धान्नेमात्र होइन, छरछिमेकलाई पर्दा गर्जो टार्न सहयोग गर्न सक्ने भएका छन् । आआफ्ना समूहमा किसानले मासिक बचतसमेत गर्दै आएका छन् ।

प्रतिक्रिया