‘हामी छौँ सिजन १०’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । सलोन सलिना फिल्सस्को प्रस्तुतिमा बनेको डकुड्रामा ‘हामी छौँ सिजन १०’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वास्तविक जीवनमा घरेलु हिंसादेखि यौनिक हिंसाबाट पीडित भएका व्यक्तिहरूको कथालाई समेटिएको छ । वास्तविक घटनाको पीडालाई कलाकारहरूले जीवन्त अभिनयमार्फत प्रस्तुत गरेका छन् । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामामा सलिना बस्नेत र आर्यन पौडेल मुख्य भूमिकामा छन् ।

७ एपिसोडको डकुड्रामामा रुस्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन गुरुङ, सुशान्तकुमार श्रेष्ठ, उमा कार्की, पुरन थापा, लय संग्रौला, सुस्मा लामा, समीर खान र गणेश बुढाथोकीको अभिनय छ ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत ७ प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो । रामजी राउतको निर्देशन रहेको डकुड्रामामा सुशील देवकोटाको लेखन रहेको छ । यस डकुड्रामालाई सौरभ लामाले खिचेका हुन् । शोभितका अनुसार यो डकुड्रामा १२ असोजबाट हरेक शनिबार ओएसआर डिजिटलबाट प्रसारणमा आउनेछ ।

प्रतिक्रिया