गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

रौतहट । सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमबार राती प्रादेशिक अस्पतालमा छापामारी गरेको हो ।

टोलीले अस्पतालको स्टोर रूममा खरिद अनुसारको औषधि उपकरण भए नभएको बुझी मुचुल्का गरी लगेका छन् । अख्तियारको टोलीले खोजेअनुसार परिमाणको उपकरण र सामग्री नपाएपछि सोहिअनुसार मुचुल्का गरी लगेको अस्पताल स्रोतले जनाएको छ ।

स्टोरमा रहेको उपकरण र औषधिबारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासँग केही बेर सोधपुछ गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन् ।

मधेस प्रदेशका प्रादेशिक आपूर्ति समितिले प्रदेशभरी अस्पतालहरूमा आपूर्ति गरेको औषधि तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन् ।

हासमिका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधि र स्वास्थ्य उपकरणबारे छानबिन सुरु गरेको छ ।

उता अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधि उपकरण खरिद, टाइल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन, न्यानो झोला वितरण, करार कर्मचारी भर्नादेखि निजी क्लिनिक र ल्याबसँग साँठगाँठ गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

प्रतिक्रिया