जनकपुरधाम । मधेस प्रदेशको ४ जिल्लामा ८ अर्ब ५१ करोड ७९ लाखको लागतमा ३३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२÷०७३ देखि आव २०८०÷०८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो । केही ठाउँमा थप सडक निमार्ण गर्ने कार्य भइरहेको छ ।
प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती ४ जिल्लामा कुल ३९३ किमी सडक निर्माण गर्ने लक्ष्य थियो । यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल निर्माण गरिएका छन् ।
हुलाकी सडक निर्माण कार्य नेपाल तथा भारत सरकारको लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए । ‘हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकासिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरूपले समृद्ध हुँदै गएका छन् । राजमार्गमा सवारी साधनको आवागमनमा वृद्धि भएको छ’, उनले भने ।
कार्यालयबाट प्राप्त विवरणअनुसार निर्माण भएको हुलाकी सडकमध्ये सिरहामा २९ दशमलव ९८ किमी (कमला–बलान सडक), २७ दशमलव ४६ किमीको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५ दशमलव ५८ किमीको कदम चौक–कप्टौल–निकौरिया सडक, १० किमीको यदुकोहा– खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमीको जनकपुरधाम–जलेश्वर भिठ्ठामोड सडक रहेका छन् ।
यसैगरी महोत्तरीमा निर्माण भएका सडकमा २० किमी लामो जनकपुर–बसविटी–वलुवा–हर्दिपोखर–भिण्डा–संग्रामपुर सडक निर्माण गरिएको छ । सर्लाहीमा २२ दशमलव ४८ किमी लामो वेल्हीत्रिभुवन नगर सडक, २१ दशमलव २० किमी लामो फुलजोड–त्रिभुवन नगर सडक तथा ४० दशमलव ३७ किमी लामो शीतलपुर–मलंगवा–खरैयाटोल सडक, २६ दशमलव ५९ किमी लामो नवलपुर–मलंगवा तथा ४० दशमलव ५८ किमी लामो नयाँ रोड–बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निर्माण सम्पन्न भएका छन् ।
प्रतिक्रिया