जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा सुरेन्द्र भण्डारी, बरिष्ठ उपाध्यक्षमा मनोज साह र महिला उपाध्यक्षमा रिंकु साह विजयी भएका छन् ।
अध्यक्ष पदमा आफ्ना निकटतम प्रतिद्वन्द्वी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारीले १ हजार ६४४ मत ल्याएर जित हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी मनिषले १ हजार ५७२ मत पाएका छन्, भने जितेन्द्रप्रसाद साहले २९३ मत प्राप्त गरेका छन् । अध्यक्षमा ६३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।
संघको बरिष्ठ उपाध्यक्षमा मनोज साह प्रतिद्वन्द्वी अम्भुप्रसाद साहसँग ६८५ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ८११ मत ल्याएर जित हात पार्दा उनका प्रतिद्वन्द्वीले १ हजार १२६ मत ल्याए । बरिष्ठ उपाध्यक्षमा ८३ वटा मत बदर भएको छ ।
संघको उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रिंकु साह १ हजार ६७२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी माया साहले १ हजार १४४ तथा सरिता ठाकुरले ६५५ मत पाएकी छन् । प्रतिद्वन्द्वी मालालाई ५२८ मतले पराजित गर्दै रिंकु विजयी भएकी हुन् । महिला उपाध्यक्षमा ७४ वटा मत बदर भएको निर्वाचन समितिका अध्यक्ष ललितकुमार साहले जानकारी दिए ।
संघको सम्बद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिफर्म गरी ३ बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र १ जना सुनचाँदीबाट २ जना उम्मेद्वार थिए । पोल्ट्रिफर्मले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३ हजार ५७४ मत खसेको थियो ।
जनकपुरधाम उद्योग वाणिज्य संघ यहाँ क्रियाशील राजनीतिक दलहरूको ‘शक्ति परीक्षण’ गर्ने थलो बन्यो । उद्योगी–व्यवसायीहरूको हितमा काम गर्ने छाता संस्था भनिए पनि सुरुवातदेखि नै संघमा राजनीतिक प्रतिस्पर्धा हुँदै आएको छ । उक्त सिलसिला अहिले पनि जारी छ । जसमा यसपटक नेकपा एमालेले आफ्नो दबदबा कायम राख्न सफल भएको छ ।
आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व छनौट गर्न भएको निर्वाचनमा अध्यक्ष पद भने एमालेको पोल्टामा परेको छ । संघमा यसपटक एमालेले आफ्नो वर्चश्व कायम गरेको हो । चुनावमा कांग्रेस निकट व्यवसायीहरू विभाजित भएर २ वटा प्यानल भई चुनावी प्रतिस्पर्धा हुँदा एमालेले बाजी मारेका छन् ।
प्रतिक्रिया