बन्द भए चितवनका गुणस्तरीय इट्टा उद्योग, गुम्यो हजारौँ मजदुरको रोजिरोटि

चितवन । गुणस्तरीय इट्टा उत्पादन हुँदै आएको यहाँका सबै इट्टा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इट्टा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।

नेपाल इट्टा उद्योग महासंघका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः संख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एक पटक इट्टा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् ।

उनले भने, ‘गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।’ एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उनले हजारौँ मजदुरको रोजिरोटि बन्द भएको र करोडौँ रुपैंया उद्योगले नोक्सान बेहोरेको बताए ।

चितवनको इट्टा राम्रो इट्टाको रुपमा चिनिन्थ्यो । चितवन र छिमेकी जिल्लामा यहाँको इट्टा जाने गर्दथ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इट्टा ल्याएर बिक्री वितरण गरिँदै आएको छ ।

सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिशपर्धा हुनु, बाहिरबाट ल्याईएका कम गुणस्तरका इट्टा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानियले अवरोध गर्नुलगायतका कारण उद्योग बन्द हुन पुगेका हुन् ।

सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इट्टा उद्योग संघ चितवनका अध्यक्षसमेत रहेका सापकोटा बताउँछन् । यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उहाँको भनाइ छ । जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रुपमा इट्टा उद्योग सञ्चालनमा रहेका थिए ।

प्रतिक्रिया