आफ्नो प्रतिस्पर्धी म आफैँ : काफ्ले

मोडल प्रतीक्षा काफ्ले

कला र मोडलिङ क्षेत्रकी उम्दा प्रतिभा हुन्– प्रतीक्षा काफ्ले । जिन्दगीको हरेक कठिन विगतसँग पौँठेजोरी खेल्दै मनभरि सपना सजाएर अघि बढेको ती संघर्षका दिनहरू उनले बिर्सेकी छैैनन् । उनमा कामप्रतिको लगन, इमान र बलियो साहस अनि धैर्यता थियो र त कलाक्षेत्रको सम्भावना बोकेको एउटा प्रतिभा बनायो । फिदिम नगरपालिका–१ पाँचथरमा जन्मिएकी प्रतीक्षाको हाल नेपाली गीतसंगीत र मोडलिङको क्षेत्रमा छुट्टै स्थान बनिसकेको छ । गत महिना सार्वजनिक भएको ‘तिमीलाई नै’ बोलको भिडियोले चर्चा बटुलिरहेको समयमा तीज गीत ‘सोह्रै शृंगार लाएँ’ बजारमा आएपछि थप चर्चामा रहेकी मोडल प्रतीक्षाले बिगतमा आँखामा निन्द छ, मुर्रा भैँसी, तिम्रो आकर्षणले, मनका कुरा, बुङ्गो, नघोच यो छातीलगायत दर्जनाैँ सफल गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छिन् ।


दर्जनौँ अवार्ड, सम्मान आफ्नो पोल्टामा पार्न सफल भएकी प्रतीक्षा मोडलिङको क्षेत्रमा आफूलाई अब्बल सावित तुल्याउने प्रयासमा छिन् । प्रस्तुत छ चर्चित र व्यस्त मोडल तथा कुशल कलाकार प्रतीक्षा काफ्लेसँग सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको कुराकानीको अंशः

पछिल्लो समय तपाईं अभिनीत एकपछि अर्काे भिडियो बजारमा आइरहेको छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

यो सब करिब एक दशकको कडा परिश्रम र मिहिनेतको फल अनि दर्शकको मायाले सम्भव भएको हो । बजारमा आएका गीतहरूबाट एकदम राम्रो प्रतिक्रिया पाइरहेको छु, जसले अझै कामप्रति समर्पित भएर लागिरहन अभिप्रेरित गरेको छ ।

संख्याको हिसाबले अहिलेसम्म कति जति म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?

करिब २ दर्जन र्याम्प, एक दर्जन टिभिसी र दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेको छु ।

सुरुआती समयलाई सम्झँदा अहिले कस्तो महसुस गर्नुहुन्छ ?


हरेक कुराको सुरुआत शून्यबाट नै हुन्छ । विभिन्न र्याम्प टिभिसी हुँदै म्युजिक भिडियोसम्म आइपुग्दा हरेक कामलाई चुनौती सँगसँगै एउटा अवसरका रूपमा लिन्छु । जति वर्ष काम गरे पनि हरेक कामलाई मेरो पहिलो कामका रूपमा लिन्छु र त्यसैमा समर्पित भएर लाग्छु, जसले राम्रो नतिजा दिन्छ भन्ने लाग्छ र पुराना दिनहरूलाई फर्केर हेर्दा रोमाञ्चित अनुभूति हुन्छ ।

यो क्षेत्रमा आउँदा संघर्ष गर्नुपर्यो कि परेन ?


सुरुआती दिनहरू केही संघर्षमय भए पनि विगत ५ वर्षदेखि अनवरत काम गरिरहेको छु, सायद काम नै पहिलो प्राथमिकता भएर होला पछाडि फर्किएर हेर्नुपरेको छैन ।

किन मोडलिङ रोज्नुभो ?


सानैदेखिको शौख, सधैँ केही फरक गरौँ भन्ने हुटहुटी, समाजलाई केही योगदान गरौँ भन्ने भावना, नाम एवं दामका लागि पनि मलाई यो क्षेत्रले आकर्षित गर्यो ।

सफल मोडलमा हुनुपर्ने गुण के–के हुन् ?


कामप्रतिको समर्पण, सरलता, सहनशीलता, लगनशीलता, एकाग्रता र धैर्यता नै एक सफल कलाकारका गुणहरू हुन जस्तो लाग्छ ।

यो क्षेत्रमा नआउनुभएको भए यतिबेला के गर्दै हुनुहुन्थ्यो ?


सायद एयर होस्टेज वा नर्सिङ पेसा अँगाल्थेँ होला अथवा बिजनेश वुमन बन्थेँ कि !

यस क्षेत्रमा भोगेको नराम्रो घटना तपाईँको जीवनमा केही छ कि ?

सायद आफ्नै बलबुताले उठेर आएको भएर होला, अहिलेसम्म त्यस्तो केही अनुभव गर्नुपरेको छैन ।

यो क्षेत्रमा भविष्य सुनिश्चित देख्नुहुन्छ ?


हरेक क्षेत्रले चुनौती सँगसँगै अवसर पनि लिएर आएको हुन्छ । दृढ इच्छाशक्ति, कामप्रतिको इमान र आफूले पाएको भूमिकालाई निभाउन सक्ने कुशल क्षमता हुनेहरू यो क्षेत्रमा लागेरै राम्रो जीवन बाँच्न सक्छन भन्ने लाग्छ ।

तपाईं आफ्नो प्रतिस्पर्धी कसलाई मान्नुहुन्छ ?


ग्ल्यामरको दुनियाँमा अरूसँग दाँज्नुभन्दा पनि आफ्नो क्षमताले गरिखाने भएकाले कसैलाई प्रतिस्पर्धी देख्दिनँ । आफ्नो प्रतिस्पर्धी म आफैँ हुँ जस्तो लाग्छ ।

मोडलिङको माध्यमबाट चलचित्रमा फड्को मार्ने सोच छ कि ?


अवश्य छ । जसका लागि केही प्रस्ताव पनि आएका छन् । समय मिलाएर स्क्रिप्ट अध्ययन गरेर चलचित्रमा पनि काम गर्ने योजना बनाएको छु ।

र्याम्प मोडलिङ र भिडियोमा के भिन्नता छ ?


म कुनै पनि कामलाई चुनौती भन्दा पनि अवसरका रूपमा लिन्छु, जसले गर्दा म सबै प्रकारका कामबाट इन्जोय गरिरहेको हुन्छु । प्रविधिको विकासले र्याम्पभन्दा म्युजिक भिडियोको दायरा र पहुँच अझ सहज र फराकिलो हो जस्तो लाग्छ ।

हिजोको सामान्य जीवन र अहिले समाजले हेर्ने दृष्टिकोणमा के फरक पाउनुभो ?


त्यो त धेरै नै फरक छ नि ! अरूभन्दा फरक देखिनुपर्ने चुनौती, लवाइखवाइ, हिँडाइ, बोलाइ हरेक कुरामा सतर्कता अपनाउनुपर्ने जस्ता कुराले जीवनमा परिवर्तन ल्याइदिएको छ ।

समग्रमा मोडलिङ क्षेत्रलाई कसरी लिनुहुन्छ ?


मैले अघि नै भनिसकेँ– कुनै पनि क्षेत्रमा टिकिरहन धैर्यता, लगनशीलता, इमानदारिता, विनम्रता, कामप्रतिको समर्पण लगायतका कुराहरू जरुरी हुन्छ । त्यस्तै यो क्षेत्रबाट पनि आफूलाई स्थापित गर्दै एउटा राम्रो जीवन बाँच्न सकिन्छ । साथै सामाजिक रूपमा पनि समाजप्रति जिम्मेवार र उत्तरदायी बनाउन अभिप्रेरित गर्छ । जसले आफ्नो पेसाप्रति गौरव अनुभूति गराउँछ ।

प्रतिक्रिया