काठमाडौँ । अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको मंगलबारको प्रष्ट योजना थियो– फिलाडेल्फियाको बहसमा आक्रमण गर्ने र मानसिक रूपमा राष्ट्रपतिका अर्का उम्मेदवार डोनाल्ड ट्रम्पलाई अस्थिर गराउने । यही योजनामा उनी सुरुदेखि थिइन् । बहसको सुरुआतमा उनले हात मिलाइन् । त्यसपछि सबै दर्शकको ध्यान आफूतर्फ आकर्षित गरिन् ।
ह्यारिस बिस्तारै आक्रामक हुँदै गएपछि ट्रम्पले आफ्नो नियन्त्रण नै गुमाए । समय–समयमा उनी रिसाएका पनि थिए । धेरै राजनीतिका पण्डितहरूले ह्यारिसले जितका लागि एउटा बाटो तय गरेको अनुमान गरिसकेका थिए ।
यस बहसमा धेरै जनाको चासो केही विषयमा पक्कै थियो । केही महत्वपूर्ण विषयमा ह्यारिसको एप्रोच उनीहरूले बुझ्न चाहेका थिए । आर्थिक सवालमा उनका ३ वटा नीति प्रष्ट थिए– करको रकम बच्चाहरूका लागि खर्च गर्ने, साना व्यवसायीलाई करमा छुट तथा घर खरिदमा सहुलियत । यी सबैमा उनी आफ्नो धारणा प्रष्टसँग राख्न सफल भइन् ।
ह्यारिसले आर्थिक समानताको विषय उठाउँदा ट्रम्पको ध्यान भने उनलाई माक्र्सवादबाट प्रभावित तथा ¥याडिकल वामपन्थी भएको पुष्टि गर्नेमा थियो । सो सवालमा पनि ट्रम्प असफल रहे । ह्यारिसले अमेरिका अब नयाँ बाटोमा जाने बताउँदै त्यो बाटो नयाँ ह्यारिस नीतितर्फ नै संकेत गरेकी थिइन् ।
बहसको मुख्य विषय भने आप्रवासी मुद्दा थियो । संसारका धेरै आप्रवासीको अमेरिका प्रवेशले अपराध बढाउने कुरामा ट्रम्पले जोड दिँदा ह्यारिस किञ्चित डगमगाइनन् । ट्रम्पको एउटै नीति आप्रवासी मुद्दा थियो । उनले बाइडेन प्रशासन कमजोर भएको कुरा बारम्बार उठाइरहँदा ह्यारिस भने आफ्नो भविष्यको मुद्दामा केन्द्रित हुदै सबैलाई प्रभाव पार्न सफल भइन् ।
सन् २०२० मा २ लाख ५ हजारभन्दा बढी नेपाली अमेरिकामा रहेको तथ्यांक थियो । सन् २००० देखि २०१० सम्ममा नेपाली आप्रवासीको संख्या ५६० प्रतिशतले वृद्धि भएको थियो भने त्यसपछि २९५ प्रतिशतले वृद्धि भएको हो । यही अवस्था अन्य निम्न तथा मध्यम आय भएका देशका नागरिकको पनि छ । अझ युद्ध प्रभावित देशका नागरिक धेरै अमेरिका पुगेका छन् । सबैलाई शरण दिने अमेरिकी नीतिको गलत फाइदा संसारका धेरै देशले उठाएका छन् । यसैको उदाहरण नेपालको नक्कली भुटानी शरणार्थी प्रकरणसमेत हो । यस प्रकरणमा नेपालका शीर्षस्थ व्यक्तिहरूको समेत संलग्नता पुष्टि भइसकेको छ ।
‘मेकिङ माइग्रेसन फर अल’ नीतिअनुरूप अमेरिकाले संसारमा समस्यामा रहेका नागरिकलाई आफ्नो देशमा शरण दिने नीति लिएको थियो । भुटानमा रहेका नेपाली मूलका व्यक्तिलाई त्यहाँबाट लखेटिएपछि उनीहरू झापा र मोरङमा आएर बसोबास गरेका थिए । त्यसै समयमा आएका करिब १ लाख हाराहारी नेपाली मूलका भुटानीलाई अमेरिकाले शरण दिएको थियो । सन् २००७ देखि २०१४ सम्म ८८ हजारभन्दा बढी व्यक्ति अमेरिका पुगेका थिए । अझै नेपालमा भुटानी शरणार्थी बाँकी रहेको भन्दै नेपाली अधिकारीले गलत डकुमेन्टसमेत तयार गरेका थिए ।
राष्ट्रपतिका २ उम्मेदवारबीचको बहस नेपाल लक्षित त थिएन । तर, संसारमा साँच्चै दुःख पाएकाहरूको सवालमा ह्यारिस दयालु भए पनि गलतलाई छुट नदिने प्रष्ट धारणा राखिसकेकी छिन् । उनले बाइडेन प्रशासनको बचाउ पनि गरेकी छैनन् । बारम्बार अबको अमेरिका नयाँ बाटोमा जाने कुरामा जोड दिएकी छिन् । यसको मतलब गलत बाटोबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सवालमा ह्यारिस दयालु हुन्छिन् भन्ने उनको बहसले देखाएको छैन ।
धेरै अफ्रिकी देशका नागरिक भने मेक्सिकोको अवैध सीमाबाट अमेरिका प्रवेश गर्ने गरेका छन् । यसै वर्ष अमरिकी दूतावासले सूचना नै जारी गरेर गलत डकुमेन्टको सवालमा कडा कारबाही गर्ने चेतावनी दिए पनि यो प्रयास अझ रोकिएको छैन । शरणार्थीका रूपमा, खेलकुद, कला र साहित्य क्षेत्रमा पनि यो क्रम जारी छ । यसमा ट्रम्प र बाइडेन दुवै कठोर छन् । ट्रम्प आप्रवासी कम गर्ने नीति चाहन्छन् । ह्यारिस भने सही परिचय र अमेरिकालाई उपयुक्त ठहर हुने मात्र होइन, मानवीय संवेदनालाई सम्बोधन गर्नुपर्ने कुरामा सचेत छिन् ।
ट्रम्प र बाइडेन नीतिमा आउने फरकमा डिभीको संख्याका बारे अझै बहस भएको छैन । तसर्थ अन्य विषयमा युद्धरत धेरै देशका नागरिकको हकमा आप्रवासी नीतिमा असर गर्न सक्छ । ट्रम्पको जित उनीहरूका लागि बाधक बन्न सक्छ । डिभी तथा अन्य विविध क्षेत्रमा राम्रो सीप भएकाहरूका लागि धेरै असर नगर्न सक्छ । परन्तु अमेरिकी राष्ट्रपति चुनाव र यसले दिने नतिजा अमेरिका जान चाहने एसियाली देशका नागरिकका लागि मुख्य चासो र चिन्ताको विषय भने पक्कै हो ।
प्रतिक्रिया