काठमाडौँ । दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दुःखी आत्मा’को छायांकन सुरु भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म सोमबार देखि सुटिङ भइरहेको हो । सुटिङ सुरुसँगै ‘दुःखी आत्मा’को सेटबाट दयाहाङ र आँचलको केही तस्बिर बाहिरिएको छ । जुन फोटोमा मुस्काइरहेका दयाहाङ र आँचल निकै खुलेका छन् । फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर आरती आचार्य, निमा पाण्डे, इंगिहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय गर्नेछन् ।
फिल्म काठमाडौँ उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । फिल्मका निर्माता हिमाल कडरिया हुन् । निर्माता कडरियाले आफूहरूले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नांगो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क क्रिएसन्सको ब्यानरमा रहेको ‘दुःखी आत्मा’ सोसियल कमेडी फिल्म हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन म्यानेजर सुदीप ढकाल छन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।
प्रतिक्रिया