हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा दीपक लामा र प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बुधबार साँझ बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि रिक्त रहँदै आएको खेलकुद विकास परिषदको सदस्य सचिव र योजना आयोग उपाध्यक्षको नियुक्ति गरेको हो । सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिसमा लामा सदस्य सचिवमा नियुक्त भएका हुन् ।
प्रदेश युवा तथा खेलकुद मन्त्रालय समेतको सहमतिमा लामालाई नियुक्त गरिएको बागमती सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । कानुनी रूपमा सामाजिक विकास मन्त्रीको सिफारिसमा सदस्यसचिव नियुक्त गर्ने व्यवस्था रहे पनि प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय पनि कायम रहेकाले मन्त्री मीनकृष्ण महर्जन समेतको सहमतिमा नियुक्त भएका नुवाकोटका लामा उसु खेलाडी हुन् ।
प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त सिन्धुपाल्चोक हेलम्बुका नेपाल खानेपानी सरसफाई तथा जलवायु परिवर्तनका विज्ञ हुन् । नेपालसँगै मन्त्रिपरिषद् बैठकले आयोगका सदस्यहरूमा काठमाडौँका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तानलाई नियुक्त गरेको छ । यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास परिषद्को संशोधन प्रस्तावसमेत स्वीकृत गरेको छ । यससँगै युवा तथा खेलकुद मन्त्री महर्जनको पहलमा उक्त संशोधन प्रस्ताव संसद्मा पेस हुन बाटो खुलेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ताका लागि पठाइने मन्त्री महर्जनले बताए ।
बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । बैठकले प्रदेशको भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गतको इकाइ कार्यालयहरूमा विनियोजित बजेटको अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
मकवानपुर
प्रतिक्रिया