साक्षरता दिवसमा अस्पताललाई पुस्तक हस्तान्तरण

हेटौँडा । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार हेटौँडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । अस्पतालमा उपचाररत बिरामी तथा कुरुवालाई अध्ययनको अवसर होस् भन्ने उद्देश्यसहित हेटौँडाबाट प्रकाशित हुने समृद्ध समाज दैनिक र सचेत नागरिक युवा समूहले संयुक्त रूपमा अस्पताललाई ८० थान पुस्तक हस्तान्तरण गरिएको हो ।

पत्रिकाका सम्पादक सुरेश श्रेष्ठ र सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले ती पुस्तक अस्पतालका निर्देशक प्राध्यापक डा.धीरेन्द्र गिरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार हस्तान्तरित पुस्तकहरू अस्पतालको जनरल वार्ड, हाडजोर्नी वार्ड र बालबालिका वार्डमा राखिएका छन् । जनरल तथा हाडजोर्नी वार्डका लागि २०–२० थान विविध पुस्तकका साथै बालबालिका वार्डका लागि ८० थान बालसाहित्यका पुस्तक हस्तान्तरण गरिएको समृद्ध समाज दैनिकका सम्पादक श्रेष्ठले जानकारी दिए ।

समृद्ध समाज दैनिकले यसअघि पनि पत्रिकाको वार्षिकोत्सवका अवसरमा अस्पतालको ३ वटै वार्डका लागि पुस्तक हस्तान्तरण गरेको थियो । अस्पतालमा लामो समय भर्ना भएर बस्नुपर्ने बिरामी र तिनका कुरुवालाई पढ्नका लागि उपलब्ध गराइने पुस्तकले सकारात्मक मनस्थितिको विकास गर्न सहयोग पुग्ने सम्पादक श्रेष्ठको भनाइ छ । बालबालिकाका लागि उपलब्ध गराइएका पुस्तकले उनीहरूको पठन संस्कृतिको विकासमा समेत भूमिका खेल्ने श्रेष्ठले बताए ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया