५ वर्षदेखि अस्पतालको भेन्टिलेटर र आइसियु प्रयोगहीन

पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडाैँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसियु प्रयोगविहीन बनेका छन् । अस्पतालमा ५ शैया आइससयु र ७ वटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । तत्कालीन कोभिड–१९ को संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

गण्डकी प्रदेश सरकारको १ करोड ६९ लाख लगानीमा आइसियु र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको संख्या अहिलेसम्म ७ पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि १ जना बिरामीको उपचार गर्न पाइएको छैन ।

५ वर्षअघि अस्पतालको पुरानो भवनमा आइसियु कक्ष निर्माण गरिएको थियो । ३ जना डाक्टर र ३ जना नर्सले भेटन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सिप पनि प्रयोगमा आउन पाएको छैन । १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बाँस्तोलाले जानकारी दिए ।

भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसियुमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उनले बताए । एउटा भेन्टिलेटर चलाउन छुट्टै डाक्टर, १ जना एनेस्थेसियालोजिस्ट, १ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको आवश्यकता पर्ने उनको भनाइ छ ।

७ वटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि १ जना पनि नहुँदा समस्या भएको उनले बताए । ‘पहिले त यसलाई ५० शैया क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ । त्यही हिसाबको कन्सल्टेन्ट आउँछन् । १५ शैया अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन’, उनले भने ।

कोभिड–१९ को संक्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए । झण्डै ५ करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेलाबेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले यसबारेमा प्रदेश सरकारमा पटकपटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पाउन नसकेको उनको भनाइ छ ।

अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । ‘हामीसँग स्रोत भएर के गर्नु ? यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन ?’, गिरीले भने ।

‘भेन्टिलेटर’ प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताए । पहाडीका अनुसार बच्चाका लागिसमेत ‘चाइल्ड आइसियु’ बनाउन ‘पेड्रियाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको २ करोडबाट सामग्री किनिएका थिए ।

त्यहीबेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो । ‘सबै भयो जनशक्ति भएनन् । यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने ? यसमा खास ३ जना डाक्टर चाहिने रहेछन् । १ जना इन्टरनल मेडिसिन पढेको, १ जना एनेस्थेसियोलोजिस्ट, १ जना नेफ्रोलोजिस्ट चाहिने रहेछ’, उनले भने, ‘यी ३ जना नै नभएसम्म डक्टरले रिस्क नलिने रहेछन् ।’

प्रतिक्रिया