काराकस : भेनेजुएलाका पूर्वउपराष्ट्रपति निकोलस मदुरोले कार्यवाहक राष्ट्रपति पदको जिम्मेवारी सम्हालेका छन् ।
हालै दिवंगत राष्ट्रपति ह्युगो चाभेजको राजकीय सम्मानका साथ अन्त्येष्टिपछि शुक्रबार राति आयोजित कार्यक्रममा मदुरोले कार्यभार सम्हालेका हुन् । मदुरोलाई राष्ट्रिय सभामा कार्यवाहक राष्ट्रपति पदको शपथग्रहण गराइएको थियो । चाभेजका ज्वाइँ होर्गे आरियाजलाई उपराष्ट्रपतिका रूपमा मनोनयन गरिएको छ । मदुरोले चुनावी कार्यक्रम अघि बढाउन अधिकारीहरूलाई निर्देशन दिएका छन्, ‘अब ३० दिनभित्र चुनाव सम्पन्न गर्नुपर्छ ।’
प्रमुख प्रतिपक्षी गठबन्धनले भने कार्यवाहक राष्ट्रपतिको शपथग्रहण कार्यक्रम गैरसंवैधानिक भएको भन्दै बहिष्कार गरेको छ । संविधानअनुसार राष्ट्रियसभाका सभामुखले कार्यवाहक नेताका रूपमा काम गर्नुपर्ने माग प्रतिपक्षीको छ ।
सैनिक प्रतिष्ठानमा चाभेजको पार्थिव शरीर राजकीय सम्मानका साथमा राखिँदा ३० भन्दा बढी मुलुकका सरकारप्रमुखले श्रद्धाञ्जली व्यक्त गरेका थिए । चाभेजले तेलधनी मुलुक भेनेजुएलालाई १४ वर्षसम्म नेतृत्व दिएका थिए । अन्त्येष्टि समारोहमा क्युवाका राष्ट्रपति राउल क्यास्ट्रोका साथमा हलिउडका सिनेकर्मी सिन पेनसम्मको उपस्थिति थियो । अन्त्येष्टि समारोहमा इरानी राष्ट्रपति मोहमद अहमदिनेजाद र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को पनि उपस्थित थिए । चाभेजको शरीर उक्त प्रतिष्ठानमा सात दिनसम्म रहने र त्यसपछि त्यसलाई संरक्षण गरेर राखिने भएको छ । (एजेन्सी)
प्रतिक्रिया