पहिलो म्याचमै थ्री–स्टारलाई धक्का

footballकाठमाडौं, २६ फागुन । साविक विजेता नेपाल पुलिस क्लबले सुधारिएको प्रदर्शन गर्दै बदला लिएपछि शुक्रबारदेखि सुरु शहीद स्मारक ए डिभिजन लिगको सुपर एटमा शीर्षस्थानको थ्री–स्टारको सुरुवात राम्रो हुन सकेन । ‘सिंगल राउन्ड’मा पुलिसविरुद्ध २–० ले विजयी भएको थ्री–स्टार सुपर एट भिडन्तमा २–१ ले पराजित हुँदै उपाधि होडमा उसलाई धक्का पुग्यो । थ्री–स्टारको ३५ अंक छ । उसको भन्दा एक खेल कम खेलेको नेपाल आर्मी २८ अंकसहित दोस्रो स्थानमा छ । पुलिसको २५ अंक भएको छ । यद्यपि लिगको सिंगल राउन्डको पहिलो खेलमा सरस्वती क्लबविरुद्ध पराजित हुनुका बाबजुद सानदार पुनारागमन गरेका कारण थ्री–स्टारलाई उपाधिको बलियो प्रत्यासीका रूपमा हेरिएको छ ।

उपाधि होडमा कमजोर देखिएको पुलिसले थ्री–स्टारविरुद्ध सानदार प्रदर्शन गर्‍यो । यता, तालमेल मिलाउन नसकेको थ्री–स्टारले आफूस्तरको प्रदर्शन गर्न सकेन । थ्री–स्टार कुनै पनि पक्षमा जम्न सकेन । चेतन घिमिरे र जुमानु राईले तयार गरेको आकर्षक मुभमा गोल गर्दै मिडफिल्डर रमेश कटुवालले चौथो मिनेटमै पुलिसलाई अग्रता दिलाएका थिए । चेतनले साइडमा निकालिदिएको बल अगाडि बढाउँदै जुमानुले टच लाइनबाट गरेको क्रसमा रमेशले ट्याब गर्नुअघि गोलकिपर किरण चेम्जोङहुँदै विट भएको थियो ।
सिक्स यार्डबाट चेतनले खालीपोस्टमा गोल गर्न नसक्दा पुलिस पहिलो हाफमा अग्रता दोब्बर गर्नबाट चुक्यो । दोस्रो हाफमा डिफेन्डर रुवेनले गोल लाइनबाट बल क्लियर गरे पनि ७० औँ मिनेटमा पुलिसले विपक्षी डिफेन्डर र गोलकिपरबीच तालमेल नमिलेर ‘सिल्ली मिस्टेक’ हुँदा अग्रता दोब्बर बनायो । डी बक्सको किनारमा डिफेन्डर सन्दीप राई र गोलकिपर किरणबीच कसले बललाई नियन्त्रणमा लिने भन्ने द्विविदा उत्पन्न भइरहँदा बीचमा छिरेर जुमानुले गोलकिपरलाई बिट गर्दै थ्री–स्टारलाई स्तब्ध बनाएका थिए । ७४ औँ मिनेटमा गोल गर्दै थ्री–स्टारले खेलमा फर्कने सम्भावना देखाए पनि अर्को एक राम्रो अवसरमा चुक्दा बराबरीबाट समेत टाढियो । भिक्टरले गरेको कर्नर प्रहारमा वैकल्पिक खेलाडी विष्णु गुरुङले हेडमार्फत गोल गरेर थी–स्टारको आशा जगाएका थिए । तर, लगत्तै पुलिसको गोलपोस्ट नियन्त्रणबाहिर भए पनि डिबक्सभित्र रहेका थ्री–स्टारका आधा दर्जनभन्दा बढी खेलाडी त्यत्तिकै अल्मलिएका थिए ।
मिडफिल्डमा कमजोर देखिएको थ्री–स्टारका स्ट्राइकर सन्तोष साहुखलले कमजोर प्रदर्शन गरे । पहिलो हाफमा विजय गुरुङले राम्रो क्रस निकाले पनि सन्तोषको फिनिसिङ कमजोर रह्यो । मिडफिल्डर फेमीले डिबक्सको आउट साइड एजबाट गरेको प्रहार सेकेन्ड बारमा लागेर फर्कदा थ्री–स्टारले पहिलो हाफमा खेललाई बराबरीमा ल्याउनबाट चुकचुकाउनुको विकल्प रहेन ।
जतिसुकै बेला पनि कमब्याक गर्न सक्ने टोलीका रूपमा हेरिएको पछिल्ला तीन संस्करणको विजेता पुलिसले पहिलो खेलमै थ्री–स्टारलाई पराजित गरी सुपर एटमा आफ्नो सशक्त उपस्थितिको संकेत गर्‍यो । सिंगल राउन्डमा पुलिस संघर्षपूर्ण र कठिन समीकरणमा आठौँ स्थानमा रहँदै सुपर एटका लागि छनोट भएको थियो । पुलिसले थ्री–स्टारविरुद्ध मिडफिल्डमा सानदार प्रदर्शन गर्‍यो भने डिफेन्स पनि विपक्षीलाई रोक्न पर्याप्त रहेको थियो । भोला सिल्वाल, रमेश कटुवाल र योगेश गुरुङ उच्च लयमा देखिदा स्ट्राइकर जुमानुले पनि आफूस्तरको प्रदर्शन गरे ।
यद्यपि डिफोन्डर सुमन सुवेदीले दोस्रो हाफको इन्जुरी समयमा बेहोरेको रातो कार्ड भने पुलिसलाई आगामी खेलमा महँगो पर्न सक्नेछ । उसका भरपर्दा अर्का डिफेन्डर सुरज बिके चोटका कारण केही खेलयता मैदानमा देखिएका छैनन् । हारपछि थ्री–स्टारका प्रशिक्षक प्रदीप हुमागाईले आफ्ना खेलाडीबीच तालमेल मिल्न नसकेको र अनावश्यकरूपमा दबाब महसुस गर्दा टोलीले हार सामना गर्नुपरेको उल्लेख गरे । ‘एएफसी च्यालेन्जकप छनोटका कारण हामीले तयारी गर्न पाएनौँ । सिधै मैदानमा ओर्लदा खेलाडीबीच तालमेल हुन सकेन ।’ आगामी खेलमा प्रदर्शन सुधारिने आशा व्यक्त गर्दै प्रदीपले भने,‘मेरो टिमले नम्बर वन हुँ भन्ने नै बिर्सिएजस्तो लाग्यो । त्यति ठूलो अग्रता भएर पनि खेलाडीले दबाब महसुस गरे ।’ पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले आफ्नो टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै विपक्षीलाई रोक्ने रणनीतिमा सफल भएको र विपक्षीले आफूस्तरको प्रदर्शन गर्न नसकेको उल्लेख गरे ।
मनोनयनमा राष्ट्रिय टिम
काठमाडौं : अखिल नेपाल फुटबल संघ(एन्फा)ले ‘एनसेल फुटबल प्लेयर अफ दि इयर’का लागि राष्ट्रिय टिमका सम्पूर्ण खेलाडीलाई मनोनयनमा राखेको छ । भोटिङका आधारमा हुने विजेताको घोषणा ३० चैतमा हुने एन्फाले जनाएको छ । विजेताले कार पाउनेछन् ।
यो मनोनयन निकै हतासपूर्ण र भद्दा देखिए पनि एन्फाले राष्ट्रिय टिमका सम्पूर्ण सदस्य सर्वोत्कृष्टका लागि योग्य भएको दाबी गरेको छ । विजेता घोषणाको आधारमा एसएमएस भोटिङको ६० प्रतिशत हिस्सा रहनेछ भने ‘रजिस्टर्ड’ फुटबल प्रशिक्षकको मतले २० प्रतिशत र खेल पत्रकारको मतले २० प्रतिशत प्रभाव पार्ने एन्फा अध्यक्ष गणेश थापाले जानकारी दिए । विजेताले पाउने कारको किसिमबारे एन्फाले विभिन्न कम्पनीसँग कुराकानी गरिरहेको छ । (सौस)

प्रतिक्रिया