काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।
यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताए ।
श्रेष्ठले भने, ‘बंगलादेश एकदमै राम्रो टोली हो, हिजो भारत जस्तो बलियो टोलीलाई उसले हराएको छ, त्यसैले आज निकै प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरेको छु ।’ हिजो भएको सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
त्यस्तै बंगलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरुको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिए ।
प्रशिक्षक हाकीले यसअघि समूह चरणको खेलमा नेपालसँग आफ्नो टोली पराजित भए पनि भोलिको खेलमा उपाधि जित्ने मनोबलका साथ खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । नेपाल र बंगलादेशबीचको फाइनल खेल आज दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया