क्वालालम्पुर । एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपालको एपिएफ क्लब उज्वेकिस्तानको पिएफसी नसाफसँग पराजित भएको छ । मलेसियाको लिकास स्टेडियममा भएको खेलमा एपिएफ नसाफसँग १–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा एपिएफले गोल खान पुग्यो । दोस्रो हाफको चौथो मिनेटमा लिलि नाइबर लरेन्सले गरेको गोल नै नसाफका लागि निर्णायक बन्यो ।
नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने एपिएफ पहिलो टोली हो । पहिलो खेलमा नै हार बेहोरेसँगै एपिएफको समूह चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । एपिएफले अब दोस्रो खेलमा बुधबार मलेसियाको घरेलु टोली सबाहविरुद्ध खेल्नेछ ।
एपिएफले नेपालको महिला लिग च्याम्पियनसिपको विजेताको हैसियतमा च्याम्पियनसिप खेल्न लागेको हो । च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन् । च्याम्पियनसिपमा सन् २०२४ को फिफा वरीयताको शीर्ष ८ मा रहेका राष्ट्रका क्लबहरूले सिधै समूह चरणमा स्थान बनाएका छन् । बाँकी १४ राष्ट्रका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ । १४ देशका क्लहरूलाई ४ समूहमा विभाजन गरिएको छ । ४ समूहका विजेताले च्याम्पियन्सिपको समूह चरणमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया