एट्लेटीको म्याड्रिडको सानदार जित

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलअन्तर्गत एट्लेटीको म्याड्रिडले सानदार जित निकालेको छ । सोमबार बिहान सम्पन्न खेलमा जिरोनालाई ३–० गोलले हराउँदै एट्लेटीकोले सहज जीत हात पारेको हो । एट्लेटीकोको जितमा एन्टोनी ग्रिजम्यान, मार्कस लियोरेन्ट र कोकेले गोल गरेका थिए । सिजनको पहिलो खेलमा भिल्लारियलसँग बराबरी खेलेको एट्लेटिकोले पहिलो जित हात पारेको हो ।

स्पेनिस फुटबल लिग ला लिगाअन्तर्गत नै भएको खेलमा रियल मड्रिडले जित हात पारेको छ । आइतबार राति भएको खेलमा रियलले भालाडोलिडलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले गोल गरे । यसअघि अंक बाँडेको रियलले २ खेलबाट ४ अंक जोडेको छ । भालाडोलिडको ३ अंक छ ।

जर्मन बुन्डेसलिगाको खेलमा फुटबलको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी सुरुआत गरेको छ । आइतबार राति सम्पन्न खेलमा वुल्फ्सबर्गलाई ३–२ गोलले हराउँदै बायर्नले सुखद सुरुआत गरेको हो । बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले १–१ गोल गरेका थिए । १ गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो । वुल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए । वुल्फ्सबर्गका लागि लोभ्रो माजेरले २ गोल गरेका थिए । यो जितसँगै बायर्न म्युनिखले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ । वुल्भ्सवर्गले हारबाट प्रतियोगिताको सुरु गरेको छ ।

इंग्लिस प्रिमियर लिगमा भने चेल्सीले पहिलो जित दर्ता गरेको छ । आइतबार राति सम्पन्न खेलमा नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले वुल्भ्सविरुद्ध ६–२ को सानदार जित निकालेको हो । वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि नोनीले ह्याट्रिक गरे । त्यस्तै कोल पाल्मर, निकोलस ज्याक्सन र जोआओ फेलिक्सले १–१ गोल गरे । वुल्भ्सका लागि म्याथ्युअस कुन्हा र जोर्गेन स्ट्रान्ड लार्सनले गोल गरे ।

पहिलो हाफ २–२ को बराबरीमा सकिए पनि वुल्भ्यस दोस्रो हाफमा सम्हालिन नसक्दा ४ गोल खायो । दोस्रो मिनेटमै ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २७औँ मिनेटमा वुल्भ्सका लागि कुन्हाले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफको अन्त्यतिर पाल्मरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा वुल्भ्सका लागि लार्सन बराबरी गोल फर्काए । ४९औँ मिनेटमा पहिलो गोल गरेका नोनीले ५८औँ र ६३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८०औँ मिनेटमा फेलिक्सले चेल्सीका लागि छैटौँ गोल गरेका थिए ।

प्रतिक्रिया