चितवन । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । नेपाल नेत्रज्योति संघ चितवनको २४औँ वार्षिक साधारणसभामा संघका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताए ।
‘यहाँ दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र संघीय अस्पताल रहेको छ, भरतपुर ‘मेडिकल सिटी’को रुपमा विकास भइरहेको छ’, उनले भने । देशकै मध्यभागमा रहेकाले उक्त अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा आषेश ढुंगानाले प्रतिष्ठानले नेपाल नेत्रज्योति संघसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै उनले यसलाई अझै प्रभावकारी बनाउँदै लैजान आवश्यक भएको उल्लेख गरे ।
कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैशी, संघकी सदस्य मिना खरेललगायतले संघको गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा संघका सचिव केशवप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्दै संघद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत एक वर्षमा तीन लाख ४९ हजार पाँच सय ४६ जनाको आँखाको उपचार गरेको जानकारी दिए । तीमध्ये ११ हजार दुई सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया