हेटौँडा उपमहानगरपालिका र व्यवसायीहरुबीच आठ बुँदे सहमति, आन्दोलन स्थगित

हेटौँडा । राजश्व दर वृद्धिको विषयलाई लिएर आन्दोलनरत हेटौँडाका व्यवसायी र हेटौँडा उपमहानगरपालिकाबीच ८ राजश्व वृद्धिको विषयलाई नगरसभामा लैजाने सहमति भएको छ । यससँगै व्यवसायीहरुले ५ दिनदेखि गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

शुक्रबार साँझ अबेर सम्पन्न वार्तामा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि बढाएको कर फिर्ता गरी पुरानै दर कायम गर्नुपर्ने मागलाई आगामी नगरसभामा पेस गर्ने सहमति भएको हो । यस्तै नगरपालिकाले लगाएको विज्ञापन करका सम्बन्धमा मकवानपुर उद्योग वाणिज्य संघ सहितको सहभागितामा अध्ययन समिति गठन गरी अघि बढ्ने सहमति भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिए ।

सहमतिसँगै मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा हुँदै आएका उपमहानगरपालिकासँग सम्बन्धित सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । व्यवसायीहरुले राखेका ७ बुँदे मागलाई सम्बोधन गर्दै उपमहानगरपालिकाले उपभोक्ता समिति मार्फत हुँदै आएका सबै प्रकारका विकास निर्माणका कामहरु सम्बन्धित निर्माण कार्यको प्रकृति हेरी थ्रेसहोल्ड कायम गरेर अघि बढाउने भएको छ ।

यसका लागि निर्माण व्यवसायी संघसँग समन्वय गर्न उपमहानगरपालिका तयार भएको छ । होटल व्यवसायहरु राती १२ बजेसम्म सन्चालन गर्न पाउनुपर्ने व्यवसायीहरुका मागका विषयमा वर्गीकरणको मापदन्ड तयार गरी सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै निर्माण व्यवसायीहरुले राखेको भ्याट रकम शीर्षक परिवर्तन गरी वक्यौता देखाइएको समस्याका विषयमा उपमहानगरपालिकाले आन्तरिक राजश्व कार्यालय, राजश्व विभाग र महालेखा परीक्षकको कार्यालयमा समन्वय गर्ने भएको छ । छलफलमा उपमहानगरपालिकाले लिँदै आएको बहाल करलाई सम्पत्ति करसँगै एकीकृत गर्नका लागि प्रकृया सुरु गर्ने सहमति भएको छ ।

यसका साथै राजश्व परामर्श समितिमा छलफल हुने विषयसँग सम्बन्धित क्षेत्रका विज्ञलाई आमन्त्रित गर्ने उपमहानगरपालिका र व्यवसायीहरुबीच सहमति भएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा राजश्वका दरमा वृद्धि गरेपछि व्यवसायीहरुले आन्दोलनका चरणवद्ध कार्यक्रम सुरु गरेका थिए ।

यसबीचमा नगरसभाका बहुमत सदस्यले व्यवसायीका माग सम्बोधनका लागि भन्दै विशेष नगरसभाको माग समेत गरिसकेका छन् । यद्यपि आफैँले सर्वसम्मत पारित गरेको करको दर वृद्धि गर्ने विषयमा खारेजीका लागि विशेष नगरसभाको माग गरेकोमा दोहोरो चरित्र देखाएको भन्दै नगरसभा सदस्यहरुको आलोचना समेत भइरहेको छ ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया