बकैया गाउँपालिकामा माओवादी र एमालेले लगाए ताला

हेटौँडा । अध्यक्षले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार तालाबन्दी गरेका छन् । कर्मचारीको सरुवा, बढुवा मनोमानी ढंगले गरेको र कार्यपालिकामा छलफल नगरी निर्णय गर्ने गरेको उनीहरुले आरोप लगाएका छन् ।

पछिल्लो समय गाउँपालिकामा कर्मचारीको जिम्मेवारी तोक्ने सन्दर्भमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्रीबिच मतभेद देखिँदै आएको थियो । उपाध्यक्ष खत्रीले अध्यक्षले आफू र कार्यपालिकामा छलफल नगरी काम गर्ने गरेकोले तालाबन्दीको अवस्था सिर्जना भएको बताए ।

उनले अध्यक्षको कार्यशैली सच्चिनुपर्ने भन्दै माओवादी र एमालेले गरेको तालाबन्दीमा आफ्नो नैतिक समर्थन रहेको बताए । अध्यक्ष लामिछानेले भने आफूले निस्वार्थ ढंगले काम गरे पनि राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर माओवादी र एमालेले तालाबन्दी गरेको बताए ।

उनले भने, ‘सामाजिक शाखा र स्वास्थ्य शाखा दुवै एकैजना कर्मचारीले हेर्दै आउनुभएको थियो । समान तहका अर्का कर्मचारीलाई स्वास्थ्य शाखाको जिम्मेवारी दिएको चित्त नबुझेर उहाँहरुले तालाबन्दी गर्नुभयो ।’

गाउँपालिका स्रोतका अनुसार दुईवटा शाखाको जिम्मेवारी हेरिरहेका छैठौं तहका फटिकरमण प्याकुरेललाई सामाजिक शाखाको जिम्मेवारी दिएर स्वास्थ्य शाखाको जिम्मेवारी सोही तहका रमेश फुयाँललाई प्रदान गर्ने तयारी भएको थियो ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया