महिला भलिबल एपीएफका निरुता ठगुन्नाको बढुवासँगै सरस्वती चौधरी र कविता भट्ट सम्मानित

काठमाडौं । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरू सम्मानित भएका छन् । उनीहरुलाई यही साउन ३० गते बुधबार प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन् । महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लवमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न भएको थियो । उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले बुधबार दज्र्यानी चिन्ह प्रदान गरेका छन् । यसअघि २२औँ सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नती गरिएको थियो ।

प्रतिक्रिया