चाँदबाग स्कुललाई ७ दिने अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाँदबाग स्कुललाई अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन ७ दिनको समय दिएको छ । काठमाडौँ महानगर–३ स्थित चाँदबाग स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले ७ दिनभित्र खाली गर्न भनेको हो ।

सोमबार महानगरका नगर प्रहरीले माइकिङ गर्दै अतिक्रमित जग्गा ७ दिनभित्र खाली गर्न निर्देशन दिएका हुन् । यसअघि, महानगरले विद्यालयलाई सार्वजनिक जग्गा खाली गर्न सूचना दिएको थियो । हालसम्म खाली नगरिएको भए तापनि महानगरले फेरि ७ दिनको समय दिएको हो । अब विद्यालयले उक्त जग्गा खाली नगरिएमा बल प्रयोग गरेर भए पनि जग्गा खाली गराउने महानगरले जनाएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको सो जग्गा विभिन्न व्यक्ति हुँदै चाँदबाग रेसिडेन्सीको नाममा पुगेको खुलेपछि सरकारले कित्ताकाट गरेर अहिले सरकारको नाममा ल्याइसकेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले साउन ८ मा जग्गाको स्रेस्ता उतारेर वडालाई दिइसकेको छ ।

७ दिनमा विद्यालयले सो जग्गा नछाडे हस्तक्षेप गरेर भए पनि हटाउने तयारी महानगरको छ । बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयमा ६ भदौ, २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।

तर, ९ चैत, २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो । सोहीअनुसार भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन, २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो । स्रेस्ता पाएपछि वडाले चाँदबाग स्कुललाई हट्न भनेको थियो ।

प्रतिक्रिया