काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री प्रीप पौडेलले कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गरेका छन् । पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन् ।
कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै सुझाव संकलन गरेका थिए । उनले पूर्व स्वास्थ्यमन्त्रीहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशकहरु, पूर्व महाशाखा प्रमुखहरु, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरुका प्रतिनिधहरु, बहालवाला कर्मचारीहरु, अस्पताल निर्देशकहरु, सञ्चारकर्मीहरु, निजी क्षेत्र तथा विकास साझेदार सहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धानदाताहरुसँग छलफल गर्दै सुझाव लिएका थिए ।
यसका साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए। यसरी संकलन गरेका सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषयहरु तथा कार्ययोजना तयार पारेका हुन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निस्शुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बीमामा जोड्ने मन्त्री पौडेलको योजना छ ।
पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन् । उनले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताए ।
पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने बताएका छन् । राष्ट्रिय गुणस्तर मापदण्ड लागू गरी औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गर्दै उपचार तथा निदानमा प्रयोग हुने सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरुको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने बताए । साथै उनले औषधिको मूल्य समायोजन गरिने समेत बताए ।
प्रतिक्रिया