काठमाडौं । पछिल्लो समय डेंगु र हैजाका संक्रमितको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्यामा तीन हजार ८४ जना पुगेको छ ।
चार दिनयता सात सय २२ जना डेंगु संक्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेंगु पुष्टि भएको थियो । यो संख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । सबभन्दा बढी डेंगु तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ । काठमाडौं जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेंगु संक्रमित देखिएका छन् ।
स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगु रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
४७ मा हैजा पुष्टि
यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका संख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौं, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए । उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ, प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।– रासस
प्रतिक्रिया