एजेन्सी । बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिम ८४ वर्षीय प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको थियो । उनले देशका राष्ट्रपतिबाट बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् ।
उनको मन्त्रिपरिषद्मा १६ जना सदस्यहरू हुने छन् । त्यसमध्ये ढाकाबाहिर रहेका बाहेकको शपथ ग्रहण गराइएको थियो । सेनाको समर्थनमा अस्थायी रूपमा सत्ताको नेतृत्व गर्ने जिम्मेवारी पाएका उनको काँधमा देशमा स्थिरता कायम गर्ने चुनौती छ ।
ग्रामीण लघु कर्जामार्फत् गरिबहरूको जीवनस्तर उकास्न भूमिका खेलेकोमा संसारले प्रशंसा गरेका यी अर्थशास्त्रीलाई विगतको निरंकुश सरकारले राजनीतिक सत्रु करार गरेको थियो । युनुस बिहीवार नै स्वदेश फर्किएका थिए र लगत्तै उनले गर्नुपर्ने काम धेरै भएको टिप्पणी गरेका थिए ।
‘जनताहरू उत्साहित छन्,’ फ्रान्सबाट ढाका पुगेको केही क्षणपछि युनुसले बीबीसीसँग भनेका थिए । यसैबीच बंगलादेशको सेनाले एउटा सर्कुलरमार्फत आफ्नो सहयोगमा देशभरका सबै प्रहरी चौकीका गतिविधिहरू आगामी २४ घण्टामा सुरु हुने बताएको छ ।
सेनाका प्रमुखसहित नवनियुक्त प्रहरी महानिरीक्षक र अन्य सुरक्षा अधिकारीहरूको बैठकपछि अराजकता, आगजनी, ध्वस र विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चालिने निर्णय भएको जनाइएको छ ।
सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्ध सुरु भएको विद्यार्थीहरूको असन्तुष्टिले हिंसक आन्दोलनको रूप लिएपछि निरन्तर १५ वर्ष सत्तामा बसेकी हसिना पदत्याग गर्दै विदेश पलायन भइन् ।
गत ज्यानुअरीमा भएको निर्वाचनपछि गठित संसद्बाट हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिइन् । शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशमा राजनीतिक शून्यता उत्पन्न भएको थियो । यद्यपि सेना प्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए । राष्ट्रपतिले संसद् पनि विघटन गरे ।
हसिना भारतमै
राष्ट्रपति मोहम्मद शाहबुद्दिन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि मोहम्मदलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो । विद्यार्थीहरूले सेनाले बनाएको सरकार अस्वीकार्य हुने घोषणा गरेका थिए । युनुसको नेतृत्वमा बंगलादेश अधिनायकवादी साशनबाट प्रजातान्त्रिक पद्धतिमा फर्किने अपेक्षा गरिएको छ ।
यस्तो भन्छन् युनुस
ढाका आइपुगेपछि उनले बंगलादेशको पुनः र्निर्माणका लागि अनुशासन आवश्यक भएकोमा जोड दिए । ‘कडा परिश्रम र कार्य सम्पन्न, विमानस्थलबाट हाँस्दै निस्किँदा युनुसले भने’, नयाँ अवसरहरू आएका छन् ।’
‘आज हाम्रा लागि गौरवको दिन हो,’ उनले पछि संवाददाताहरूसँग भने । बंगलादेशले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरे जस्तै भएको भन्दै उनले देशमा शान्तिसुव्यवस्था कायम गर्न आह्वान गरे ।
हसिना तेस्रो देश जान सक्ने
हसिना भारतबाट तेस्रो मुलुक, सम्भवतः यूके, जान सक्ने अनुमान गरिएको छ । उनले यूकेमा राजनीतिक शरण माग्ने विवरण विभिन्न सञ्चारमाध्यमले प्रकशित गरेका छन् ।
तर त्यसको पुष्टि हुन सकेको छैन। उनीसँगै ढाका छोडेकी उनकी बहिनी शेख रेहाना ब्रिटिश नागरिक हुन् । शेख रेहानाकी छोरी ट्यूलिप सिद्दिक अहिले ब्रिटेनको संसदमा सदस्य छन् ।
हसिनाका सहयोगीहरूका अनुसार उनी राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन् । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन् ।
हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन् । हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए ।– बीबीसी नेपाली
प्रतिक्रिया