समृद्ध गाउँपालिका बनाउने प्रतिबद्धता छ

जाजरकोटको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंह पहिलो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । ५ वर्ष वडामा जनप्रतिनिधिको अनुभव बटुलेकी सिंह कुशे गाउँपालिकाको विकासका पूर्वाधार निर्माण गर्ने अभियानका साथ जनताकै सेवामा व्यस्त छिन् । संघीय संरचनापछि जाजरकोटका ७ वटा स्थानीय तहमध्ये एक कुशे गाउँपालिका हो । जुम्ला र जाजरकोटको अन्तिम सिमानाका रूपमा रहेको कुशेमा दोस्रो स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी सिंहसँग सौर्य दैनिकका लागि अर्जुन बिष्टले गरेको संवादको सम्पादित अंशः

निर्वाचित भएको झन्डै साढे दुई वर्षको अवधिमा के कस्ता काम गर्नुभयो ?


–निर्वाचित भएदेखि जनताकै सेवामा छु । जाजरकोटको सदरमुकामदेखि दूरी र भौगोलिक रुपमा विकट रहेको हाम्रो पालिकामा भूगोलकै कारण धेरै समस्याहरु छन् । हामी निर्वाचित भएर आएदेखि केहि प्रयासहरु भएका छन् । जसले जनतालाई स्थानीय सरकार भएको अनूभूती र राहत महसुस भएको छ । निर्वाचित भएदेखि नै जनताको सेवामा खटिएका छौँ । यो अवधिमा जनताको कामसँगै विकास निर्माणका काम पनि गतिशिल ढंगले भइरहेका छन् । विकास निर्माणलाई प्राथमिकतामा राखेर चुनावमा गएका थियौँ । अहिले विकाससँगै नागरिकका हरेक समस्यालाई नजिकबाट हल गरिरहेका छौँ ।

निर्वाचनका बेला जनतासामु व्यक्त गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ? कति बाँकी छन् ?


–निर्वाचनको क्रममा गरेका प्रतिबद्धता अनुरुप नै काम हुँदैछन् । त्यसमध्ये केहि पुरा, केहि कार्यान्वयन र केहि योजनाको रुपमा अघि बढ्दै छन् । जनताको आवश्यकतालाई मार्गदर्शनको रुपमा लिएर काम गर्दै आएको छु । ‘समृद्ध ठाउँ, कुशे गाउँपालिकाको शान विकासका पूर्वाधार निर्माण गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ जनपक्षिय काम सहित अगाडि बढिरहेका छौँ ।

पालिकामा कुन–कुन योजनालाई बढी प्राथमिकता दिनुभएको छ ?


–पालिकामा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, आयआर्जन र रोजगारीलगायतका कामलाई प्राथमिकतामा राखेका छौँ । केहि महिना यता गत वर्षको कार्तिक १७ मा गएको बिनासकारी भूकम्पबाट प्रभावित नागरिकका अस्थायी आवास निर्माण र पूननिर्माणमा बढी केन्द्रित छौँ ।

अधिकांश स्थानीय तहमा अध्यक्ष–उपाध्यक्षबीच विवाद हुने गरेको सुनिन्छ, तपाईंको पालिकामा के छ ?


–विवादको मुख्य कारण नै असमझदारी हो । अन्य पालिकामा जस्तो हाम्रोमा त्यस्तो विवाद छैन । दुवैजना जनताको प्रतिनिधि हो । जनपक्षिय काम गर्दा विवाद सिर्जना हुन्छ । भने त्यहाँ पक्कै स्वार्थ लुकेको हुन्छ । हामी जनताको काम निस्वार्थ रुपमा एकअर्कामा मिलेरै गछौँ ।

तपाईं न्यायिक समिति संयोजक पनि हुनुहुन्छ ? कस्ता खालका मुद्दा बढी आउँछन् र तिनीहरुलाई कसरी समाधान गर्नुहुन्छ ?


–सुरुमा कानुनी अस्पष्टताका कारण केहि असजिलो भयो । पछि पालिकामा आउने मुद्दाहरु हेर्दै जाँदा सहज भयो । गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समिति संयोजकको नाताले स्थानीयका समस्याहरु सकभर समाधान गरेको छु । स्थानीयको समस्यालाई पनि मध्यनजर गर्दै मेलमिलाप गर्छौ । गाउँघरमा आर्थिक लेनदेन, घरयासी विवाद, सम्बन्ध विच्छेदका सिमाना मिचेका, वस्तुले बाली खाएको, घरेलु हिंसा लगायतका मुद्दाहरु बढी आउने गरेका छन् । यस्ता मुद्दाहरुलाई पालिकामै मिलोमतो गराएका छौँ । हाम्रो कार्य क्षेत्र बाहिरका मुद्दाहरु अदालत पठाउने गरेका छौँ । नेपालको संविधानको धारा २१७ मा व्यवस्था भए अनुसार कानून बमोजिम आफ्नो अधिकार क्षेत्रभित्र न्यायिक समितिलाई विवादको निरुपन र मेलमिलापको माध्यमबाट मात्रै समाधान गर्ने प्रावधान अनुसार मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।

महिला जनप्रतिनिधिलाई समस्या र अवसर के–के रहेछन् ?


–सर्वप्रथम त भौगोलिक विकटताका कारण काम गर्न समस्या नै छ । भनेजति काम गर्न सकिएको छैन । महिला जनप्रतिनिधि भएकाले चुनौती धेरै छन् । उपाध्यक्ष भैसकेपछि काम गर्दा आरोह अवरोह र कठिनाई आउँदो रहेछ । तर पनि जनताको सेवामा लाग्दा यि सबै भुलिदो रहेछ । आफुले पाएको अवसरको अवधिभित्र काम पूरा गर्नू नै मूख्य चुनौती रहेछ । चुनावमा जाँदा जनता माँझ गरेका बाँचा पूरा गर्दागर्दै साढे दुई वर्ष वितेको पत्तै भएन । विकासका कामहरुपनि समय कति लाग्ने हो । त्यसमा भरपर्छ । गर्नुपर्ने र गरिरहेका कामहरु धेरै छन् । एकातिर अवसर र अर्कोतिर त्यसका चुनौतीहरु छन् ।

तपाईंको आगामी र बाँकी कार्यकालका लागि के योजना छन् ?


–समृद्ध गाउँपालिका बनाउने हाम्रो प्रतिबद्धता छ । जसको लागि गर्नुपर्ने धेरै कामहरु छन् । पहिलो कुरा त, यहाँ फलफूल धेरै मात्रामा उत्पादन हुन्छ । यो किसानको कृषि उपजलाई नियात गर्नु छ । शिक्षालाई नागरिकको पहँचमा ल्याउने र समतामूलक समाज निर्माण गर्नु छ । कृषिको उत्पादनले मुल्य नपाउने समस्या जुन छ, त्यसको अन्त्य गर्नु छ । गाउँपालिका क्षेत्रभित्र सडक, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा बजेटको व्यबस्थापन गरेर कार्यन्वयन गर्ने योजनामा छौँ । गाउँमै रोजगारका लागि प्रदेश र संघ सरकारलाई भनिरहेका छौँ । समृद्ध कुशे गाउँपालिका निर्माण गरेर यहाँका हरेक नागरिकलाई आफुले निर्वाचित बनाएका जनप्रतिनिधिले यस्तो खालको काम गरे है भन्ने अनूभुति गराउनु छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया