भारतीय संसद्मा सपा अध्यक्ष अखिलेशद्वारा अयोध्यादेखि जनकपुरधामसम्म एक्सप्रेस वे बनाउन माग

जनकपुरधाम । भारतका समाजवादी पार्टीका अध्यक्ष तथा लोकसभा सदस्य अखिलेश यादवले भागवान रामको जन्मभूमि अयोध्यादेखि माता जानकीको जन्मभूमि जनकपुरधामसम्म एक्सप्रेस वे (फास्ट ट्रयाक) बनाउन माग गरेका छन् ।
मंगलबार भारतीय संसद्मा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो माग गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र्र मोदी केही वर्षअघि जनकपुरधामको भ्रमणको क्रममा हरियो झण्डा देखाएर अयोध्या–जनकपुरधाम मैत्री बस सेवाको उद्घाटन गरेका थिएँ । जनकपुरधामबाट ३५ जना बसमा अयोध्या पनि आएका थिएँ । तर, म त्यतिबेला नै जनकपुरधामदेखि अयोध्यासम्म एक्सप्रेस वे बनाउनुपर्छ भनेर माग गरेको थिएँ ।’
‘अयोध्यादेखि जनकपुरधामसम्मको बाटो सहज छैन, ट्राफिक चापको कारण यात्रुहरूलाई सास्ती झेल्नुपर्ने वाध्यता हुन्छ, अध्यक्ष यादवले अगाडि भने, ‘दुवै धार्मिक स्थल हो । एक्सप्रेस वे निर्माण भएको खण्डमा दुवै देशका नागरिकलाई यात्रा गर्न सहजता प्रदान हुन्छ ।’
भारतको उत्तर प्रदेशको कन्नौजबाट भारतीय लोकसभा सदस्यमा निर्वाचित अध्यक्ष यादवले लोकसभामा अयोध्यादेखि जनकपुरधामसम्म एक्सप्रेस वेको माग गरिरहँदा सांसदहरूले टेबुल ठोकेर समर्थन जनाएका थिए ।
२८ बैशाख २०७५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको भ्रमण गरेका थिए । भ्रमणका क्रममा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या मैत्री बस सेवाको उद्घाटन गरेका थिए ।
उक्त बस सेवा केही महिना सञ्चालन पनि भयो । तर बाटो व्यस्त रहने गरेकाले बढी समय लाग्ने तथा भारतीय सडकमा ठाउँठाउँमा लाग्ने टोल शुल्कको कारण अहिले उक्त बस सेवा बन्द रहेको जनकपुर बस व्यवसायी संघले जनाएको छ । जनकपुरधामदेखि अयोध्यासम्म फास्ट ट्रयाक बनेको खण्डमा जनकपुरधाम–अयोध्यामा धार्मिक पर्यटकहरूको चाप बढ्ने सक्ने स्थनीयको भनाइ छ ।

प्रतिक्रिया