हेटौँडा । गएरातीको भीषण वर्षाका कारण हेटौँडा काठमाडौं जोड्ने छोटो दुरीका सबैजसो मार्गहरुमा यातायात प्रभावित भएका छन् । पछिल्लो समय वैकल्पिक मार्गको रुपमा प्रयोग भइरहेको कान्तिलोकपथ पहिरोका कारण अनिश्चितकालका लागि बन्द भएको छ ।
कान्तिलोकपथ अन्तरगत मकवानपुरको बगुवा गाउँपालिका ८ महादेवटारमा पहिरोले सडकको ट्रयाक नै भत्काएपछि मकवानपुरतर्फको खण्डमा यातायात खुल्ने अनिश्चित भएको ठिंगन प्रहरी चौकीका इन्चार्ज प्रहरी नीरिक्षक लक्ष्मण गिरीले बताए ।
आइतबार बिहान सोही सडकखण्डको बकैया ११ आहालेगाउँ, खोरभन्ज्याङ, बकैया १२ को मानेघुम्ती, ठिंगनबजार, चौताराभिर र बकैया ८ कालोपहिरोको अवरोध हटाइए पनि महादेवटारमा ठूलो पहिरोले सडकको ट्र्याक नै भत्काएकाले कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
यस्तै कान्तिलोकपथको ललितपुर खण्डमा पनि विभिन्न स्थानमा खसेको पहिरो हटाउने कार्य भइरहेको छ । कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा भने विभिन्न स्थानमा गएको पहिरो हटाई बिहानदेखि यातायात सञ्चालनमा आएको छ ।
मकवानपुर
प्रतिक्रिया