उपचारको क्रममा आमा र नवजात शिशुको मृत्यु, आफन्त आक्रोसित

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–९ निवासी कान्छामान लामा तामाङकी श्रीमती ३० वर्षीया माईली माया तामाङको उपचारको क्रममा मृत्यु भएको छ । माईली माया तामाङ ३२ हप्ता ४ दिनको गर्भवती थिइन् ।

पहिलेदेखि नै नियमित चेकजाँच गराउँदै आएकी माईली माया तामाङ यही साउन ७ गते पुनः चेकजाँचको लागि मेथिनकोट अस्पताल भकुण्डे पुगेकी थिइन् । सोही दिन उनको अवस्था बिग्रिएकाले धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका–६ मा विस्तृत परीक्षणको लागि पठाइएको थियो ।

धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको अवस्था गम्भीर रहेकाले बुधबार (९ गते) २ बजे अप्रेसन गरी नवजात शिशु निकालिएको थियो । नवजात शिशुको अवस्था गम्भीर रहेकाले १ः२० बजे मृत्यु भएको बताइएको छ ।

आमाको पनि अवस्था गम्भीर रहेकाले उनलाई दिउँसो २ः१५ बजे आइसियुमा राखिएको थियो । उपचारको क्रममा माईली मायाको बुधबार दिउँसो ३ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस घटनालाई लिएर विभिन्न पक्षबीच छलफल भए पनि ठोस निष्कर्षमा पुग्न नसकेको जनाइएको छ । यस घटनाले अस्पतालको चरम लापरवाही भएको भन्दै आफन्तहरू आक्रोसित भएका छन् । यसअघि पनि विगत वर्षहरूमा पटक–पटक सुत्केरी महिलाको र बिरामी कुरुवाको समेत निधन भएको थियो ।

प्रतिक्रिया