पर्सा । विद्यार्थी बोक्ने स्कुल बसबाट तस्करहरूले सामान तस्करी गर्नेगरेको रहस्य खुलेको छ । सिजी ग्रुपले सञ्चालन गरेको वीरगन्जस्थित दिल्ली पब्लिक स्कुल बसबाट शुक्रबार सशस्त्र प्रहरीले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार मेनगेटबाट अवैध रूपमा ल्याएको २ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको समान बरामद गरेपछि सो रहस्य खुलेको हो ।
सशस्त्र प्रहरी बल नेपाल १३ हेक्वा पर्साका अनुसार सशस्त्र प्रहरी बल नेपाल १३ हेक्वाका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले दिल्ली पब्लिक स्कुलको प्रदेश २–०३–००१ क ०११६ को बस आफ्ना स्कुलमा अध्ययनरत विद्यार्थीलाई सीमावर्ती क्षेत्र भारत रक्सौलमा छोडेर नेपाल फर्किनेक्रममा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार मेनगेटबाट जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा सो परिमाणको समान बरामद भएको बताए ।
सप्रनाउ सिंहले बरामद गरिएको समान र बसचालक बारा परवानीपुर गाउँपालिका–४ का ४२ वर्षीय किशोरी राम र सहचालक जिल्ला पर्सा वीरगन्ज महानगरपालिका–१२ श्रीपुरका ४२ वर्षीय दीपक गिरीसहित बसेको मूल्यांकन ३० लाख कायम गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए । उनले बस तथा समानको दाबी गर्न कोही पनि नआएको जानकारी दिए ।
दिल्ली पब्लिक स्कुलमा एसइई सरहको भारतीय परीक्षा बोर्डले लिने सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सिबिएसई) गरी दुवै पद्धतिबाट पठनपाठन तथा परीक्षा लिने गरेकाले भारतीय विद्यार्थीको पनि बाक्लो उपस्थिति हुनेगरेको छ ।
प्रतिक्रिया