जानकी आँखा अस्पताल पुनः विवादमा

जनकपुरधाम । मधेस क्षेत्रकै प्रशिद्ध आँखा अस्पताल जानकी आँखा अस्पताल एकपटक पुनः विवादमा तानिएको छ । आँखा अस्पतालमा कार्यरत चिकित्सकहरू क्रमश डा.अमित यादव, डा.सन्तोषकुमार साह र डा.रञ्जना ठाकुरको पक्षमा उनीहरूको नियुक्ती र बाँकी रहेको तलबका सन्दर्भमा बुधबार संघका पदाधिकारीहरू अस्पताल पुगेका थिए । ५ वर्षदेखि अस्पतालमा कार्यरत डा.यादवको नियुक्ती नवीकरण भइनरहेको तथा ६ महिनादेखिको तलब रोक्का गरिएको साथै डा.साह र डा.ठाकुरको समेत ६ महिनादेखिको तलब दिन नचाहेको गुनासो र संघमा परेको उजुरीको आधारमा चिकित्सकहरू त्यहाँ पुगेका रहेछन् ।

आँखा अस्पतालको सञ्चालक समिति र व्यवस्थापकले सुरुमा ३ जना डाक्टरहरूप्रति भइरहेको अन्यायका बारेमा बुझ्ने र आफूहरूको कुरा नसुने तालाबन्दी गर्ने समेतको तयारीका साथ त्यहाँ पुगेका रहेछन् । संघका महासचिव डा.रामज्ञान यादवले आफूहरूप्रति अस्पतालका मेडिकल डाइरेक्टरसहित त्यहाँका गलत तत्व जाइलाग्ने गरी प्रस्तुत हुँदा धकेलाधकेलसमेत भएको बताए ।

त्यसपछि संघले ती ३ जना चिकित्सकहरूको मागका साथै आँखाजस्तो संवेदनशील अंगको उपचार हुने अस्पतालको समग्र सुधारका लागि सर्वपक्षीय छलफल गर्ने भन्दै बिहीबार बैठक आह्वान गरे । संघका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा भएको बैठकमा अस्पताल सञ्चालक समितिका पूर्व र वर्तमान कोषाध्यक्ष क्रमश संजय साह र धीरेन्द्र मोहन झा, नेताहरू जीवनाथ चौधरी, रामसिंह यादव, डा.सुरेन्द्र यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, माओवादीका नेता दीपक यादव, जसपाका नेता पशुपति यादवसहित विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षहरूको समेत उपस्थिति थियो ।

छलफलमा बोलेका सबैले आँखा अस्पताल नेपाल रेडक्रसले चलाइरहेको देखिए पनि केही व्यक्ति र परिवारमा मात्र सीमित रहेको आरोप लगाए । अस्पताल सञ्चालक समितिका पूर्व र वर्तमान कोषाध्यक्ष क्रमश संजय साह र धीरेन्द्र मोहन झाले अस्पतालमा करोडौँको भ्रष्टाचार आँखा अगाडि बिनानियम कानुन भइरहेको भए पनि जनकपुरधामका कोही पनि नबोल्ने गरेको सम्मको आरोप प्रमाणसहित अभिव्यक्त गरे ।

उनीहरू सबैको आरोप नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्षसमेत रहेका वर्तमान सञ्चालक समिति अध्यक्ष नरेश प्रसाद सिंहसहित यसअघिका सबै अध्यक्षहरू र मेडिकल डाइरेक्टर डा. आशिष बोहरा उपर थियो । जानकी आँखा अस्पताल पछाडि स्थापना भएको लहान र विराटनगरस्थित अस्पतालमा शिशु, आपतकालीन सहितका विभिन्न विद्याका विशिष्ठकृत सेवाहरूसमेत सुरु भइसकेकोमा यस अस्पतालमा मोतियाबिन्दु बाहेकको कुनै पनि सेवा नरहेको पीडित चिकित्सकहरूको आरोप थियो ।

दबाब समूह बनाएर विभिन्न कार्यक्रमको उदघोष

तीनै जना पीडित चिकित्सकहरू आफूहरूलाई विभिन्न प्रलोभन दिएर अन्यत्रको सेवा र जागिरबाट वञ्चित गराएर बोलाई अहिले बदमासी गरिएको आरोप लगाए । अस्पतालमा चिकित्सक नभई समान्य प्राविधिक र कर्मचारीहरूले आँखा जाँच गर्ने गरेको देखि चस्माको सिसा घस्ने सहयोगीले आफ्नै हिसाबले लाखौँको औषधि खरिद गरेर बेच्ने गरेको सम्मको आरोप चिकित्सक र कोषाध्यक्षद्वयको थियो ।

बैठकबाट चिकित्सकहरूको माग सम्बोधन र अस्पताल सुधारका लागि दबाब समुह र विशिष्ठ व्यक्तित्वहरू सम्मिलित सल्लाहकार समिति गठन गरिएको छ । दबाब समूहमा चिकित्सक संघ, विभिन्न युवा क्लबका अध्यक्षहरू, राजनीतिक दलका नेताहरू सहभागी छन् भन्ने सल्लाहकार समितिमा रामसिंह यादव, डा.सुरेन्द्र यादव, जीवनाथ चौधरी, धीरेन्द्र मोहन झा सहितका सहभागी छन् । दबाब समुहले पीडित चिकित्सकहरूको तलब र पुनर्वहाली तथा अस्पताल प्रमुखको राजीनामा माग गर्ने भएको छ भने नागरिक समाजको तर्फबाट रेडक्रसमा सदस्यता बिस्तार, रेडक्रस र अस्पतालमा हुने गरेको भ्रष्टाचारको छानविन रेडक्रस तथा अस्पताल सञ्चालनका लागि सामाजिक स्तरबाट नयाँ तदर्थ समितिको गठन गर्नुपर्ने माग अगाडि बढाउने संघ धनुषाका महासचिव तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रामज्ञान यादवले बताए ।

यता अस्पताल प्रमुख डा.आशिष बोहराले संक्रमणकालीन अवस्थामा अति आवश्यक परेका बेला तत्कालीन सभापतिले डा. अमित यादवलाई नियुक्त गरेको र त्यसपछि दबाबमा पटकपटक नियुक्ती नवीकरण गरिएकाले अब पनि बोर्डबाटै नवीकरण हुने, अन्य २ जना चिकित्सकको नियुक्ती र तलबका लागि रेडक्रसकै बोर्डबाटै निर्णय हुनुपर्ने र त्यसका लागि हामीहरूले पहल गरिरहेको बताए । भ्रष्टाचारका कुरा उठनु पुरानो परिपाटी रहेको बताउँदै उनले यो नयाँ विषय नरहेको तर्क गरे ।

प्रतिक्रिया