वीरगञ्ज । मोहर्रम पर्व धुमधामका साथ मनाइँदै छ । हसन र हुसेनको प्रतिकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेर यो पर्व मनाइन्छ । वीरगञ्ज महानगरपालिका–१७ अलौँ निवासी नइम मियाले यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताउँछन् । वाञ्छित मनोकामना पूर्ण हुने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिएको छ ।
यो पर्वलाई हिन्दू धर्मावलम्बीहरूले पनि मान्ने गर्दछन् । मोहर्रम (दाहा) को एक दिन पहिला साँझमा मलिदा चढाई पूजा गर्दछन् । आफूले मागेको इच्छा पूरा भएपछि हिन्दू धर्मावलम्बीहरूले भोकै बसेर रोजा रहिलाई र मिठाले गोलो बानेकोलाई को लडुले पूजा गर्दछन् ।
पर्सा जिल्लाको वीरगञ्जको छपकैया, मुर्ली, गहवा, अलौलगायत विभिन्न ठाउँमा ताजिया निर्माण हुँदै आएको छ । यी सबै क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाइने गरिन्छ । हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिए । यिनै सहिदहरूको सम्झनामा ताजिया निस्कने गरेको छ । ताजियालाई सहिदहरूको प्रतिक मानिन्छ ।
ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतिकात्मक रूपमा विर्सजन गरिन्छ । मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो । हिन्दू तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व १० दिनको भए पनि मुख्य रूपमा चार दिन मनाइन्छ ।
केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विर्सजन गरेपछि मेलाको समापन हुने गर्दछ ।
हसन तथा हुसेनको प्रतिकस्वरुप बाँसको ढाँचामा विभिन्न रंगीचंगी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजुराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया