जनकपुरधाम । महोत्तरीमा कुख्यात डाकालाई गोली दागेर पक्राउ गरिएको छ । पक्राउपर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवन छन् । विभिन्न चोरी डकैती घटनामा संलग्न रहेका पासवानलाई राती महोत्तरी प्रहरीले घुँडामुनि गोली हानेर पक्राउ गरेको हो ।
खोजतलासको क्रममा आइतबार राति साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनीस्थित सर्लाही र मोहत्तरी सिमाना शीतलपुर भन्ने स्थानबाट घुँडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी संतुलालप्रसाद जयसवारले जानकारी दिए ।
डिएसपी जयसवारका अनुसार खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो । तर, उनी भाग्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रण लिएको डिएसपी जयसवारले बताए ।
गोली लागेर घाइते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पासवान लामोसमयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटकपटक डकैतीमा संलग्न भएको पाइएको छ ।
प्रतिक्रिया