बजार अभावले स्याउसँग मकै साटिन्छ

बारीमा लटरम्म स्याउ आम्दानी भने शून्य

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –५,६ स्थित गोतामकोटमा यतिबेला बारीभरी लटरम्मै स्याउ फलेका छन् । कुनै बोटलाई फलको भार समेत थाम्न मुस्किल छ । जिल्लाकै प्रमुख पर्यटकिय स्थल गोतामकोट आफैंमा सुन्दर र रमणीय छ । स्याउ लटरम्म हुँदा झनै सुन्दरता थपिएको छ । साढे चार हजार मिटर उचाइँमा रहेको चित्रिपाटन मूनिको मानव वस्ति भेरी नदिको किनारा र हिमालको काखमा रहेको छ । यहाँको अधिकांश माथिल्लो भूभाग, गैरीपातल, टोटेबाँझ, सालिमपाखा, काँडा, टाउरा र छिमी स्याउ उत्पादनको लागि राम्रो मानिन्छ । यहाँ गोल्डेन र रोयल गरी दुई जातका स्याउ उत्पादन हुन्छ ।

‘जता हेरेपनि स्याउ नै स्याउ देखिन्छ । हाम्रै बारीमा २०, ३० वटा स्याउका बुटा छन् । सबैमा स्याउ टन्नै फलेको छ,’ आठबिसकोट–५ का वडा अध्यक्ष घनश्याम भण्डारीले भने, ‘मेरो बारीमा मात्रै क्विन्टलभन्दा बढी फलेको होला ।’ गाउँका प्रायको बारीमा यहि सेरोफेरोमा फल्छ । स्याउको स्वाद पनि मिठो छ । भण्डारीको बारीमा मात्रै होइन, छिमी र गैरीपातलका स्थानीयको बारीमा पनि स्याउँ लटरम्मै छन् । स्वादिलो र धेरै मात्रामा स्याउँ फलेपनि किसानलाई भने कागलाई बेल पाक्यो हर्ष न विष्मात ! जस्तै छ । बारीमा फलेका स्याउले बजार नपाउँदा किसानलाई सधैं सास्ती पर्ने गरेको बताउँछन् । बेच्न लैजाऔँ नजिकै बजार छैन् । ‘घरकाले मात्रै कति खाउँ ?’ किसान खिमबहादुर भण्डारीले भने, ‘धेरैजसो त बारीमै कुहिएर गल्छ । गाउँमा धेरैले मकैसँग साट्छन । केहि त काटेर चाना पारेर राख्छौँ ।’

गोतामकोटमा मात्रै करिव एक हजार क्विन्टल स्याउँ उत्पादन हुने गरेको बताइन्छ । समुन्द्रि सतहबाट ३ हजार २ सयसम्मको उचाइँमा रहेको यो क्षेत्रको हावापानी व्यवसायिक स्याउ, किबी खेतीका लागि उपयुक्त मानिए पनि बजार व्यबस्थापनका कारण स्याउँ खेती तर्फ यहाँका किसान आर्कषित छैनन् । ‘स्याउँ त फल्छ । बिक्री कहाँ गर्ने ? भन्ने पिर छ,’ अर्का स्थानीय विरे कामी भन्छन्, ‘बारीमा स्याउका बोटमा नोट फलेका छन् । तर हामीलाई मजदुर गर्नुपर्ने बाध्यता छ । यहाँ फलेको स्याउले बजार पाए पैसा पनि कमाइन्थ्यो । नयाँ बिरुवा लगाउने जागर आउथ्यो होला । तर भएको स्याउ बारीमै कुहिए पछि वास्तै छैन् । भएका बुट्टा पनि सुक्दै जान्छन् ।’
यहाँ पाँच ÷सात वर्ष यता स्याउ राम्रै फलेको छ । यस वडामा स्याउ कति फल्छ भन्ने तथ्याङक लिने काम भइरहेको छ । आगामी वर्षदेखि गोतामकोटलाई नै लक्षित गरेर स्याउ र किबीको पकेट क्षेत्र निर्माणको लागि बगैचा व्यबस्थापन बजारीकरण लगायतका कार्यक्रमहरु अघि सारिएको छ ।

वडा अध्यक्ष घनश्याम भण्डारीले भने, ‘स्याउ खेतिलाई पहिलो प्राथमिकतामा राखेर उत्पादनमा जोड दिने काम भैरहेको छ । हाम्रो वडामा मात्रै पाँच सय क्विन्टल स्याउ फलेको छ । यसलाई वडाको सहजिकरणमा बजारसम्म पुग्छ ।’ उनका अनुसार किबीको लागि पनि वडाभर १५ लाख बराबरका ठ्याङ्ग्रा बितरण गरिएको छ । लसुन उत्पादनका लागि पनी यो क्षेत्र उपयुक्त भएकाले डाराखेत सिँचाई र पँधेरीखोला सिँचाई आयोजना सञ्चालनमा आएसँगै लसुन उत्पादनमा जोडदिने अध्यक्ष भण्डारीले बताए । कृषकलाई प्रोत्साहनको लागि उत्कृष्ट कृषकलाई सम्मान, धेरै पशुपंक्षि पाल्नेलाई अनुदान दिने लगायतका कार्यक्रम रहेको उनले बताए । गोतामकोटको स्याउलाई बजारको उचित व्यवस्थापन गर्नसके वार्षिक करोडौँ रुपैयाँको आम्दानी सँगै यस क्षेत्रलाई स्याउ पकेट क्षेत्रका रुपमा चिनाउन सकिन्छ ।

किलोमा बेचिदैन स्याउ, मकैसँग साटिन्छ

बारीमा लटरम्मै स्याउ बजारसम्म पुर्याउन पाए पैसा कमाई हुन्थ्यो । भन्ने किसानलाई लाग्छ । तर बजारको समस्याले स्याउ खेर गैरहेको छ । यहाँ स्याउ तौलिएर बेचिदैन । दानाका हिसावले बिक्रि गरिन्छ । सानो दानालाइै ५ रुपैयाँमै बेच्ने गरेको किसानहरु बताउँछन् । यसरी बेच्दा प्रतिकेजि ९० देखि १०० सम्म पर्न जाने किसानको भनाइ छ ।

स्याउले उचित बजार नपाउँदा वर्षेनि ५० लाख बढी रुपैयाँको स्याउ खेर गैरहेको स्थानीयको भनाई छ । अर्गानिक र स्वादिलो स्याउले बजार नपाउदा स्थानीय मेलापर्व, कार्यक्रम र गाउँमै मकै, धानसँग साट्ने गरेको किसानहरु बताउँछन् ।

बजारीकरणमा सडक तगारो

ग्रामिण क्षेत्रमा भरपर्दो सडक सञ्जाल नहुँदा कृषि उपज बजारीकरणमा समस्या हुदै आएको छ । गाउँको कच्चि सडक त्यसमाथि ठाउँ ठाउँमा खोला र नदी माथि पुल नहुँदा किसानले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन समस्या छ ।

आठबिसकोटका–१ नम्वर वडादेखि ६ सम्म स्याउ उत्पादनको लागि राम्रो मानिन्छ । तर सडकका कारण बजारसम्म लैजान कृषकलाई समस्या हुने गरेको छ । आठबिसकोटको चैतेखारा, बारिङ्गे, उभोखोला, पहाडा, पाटागाउँ, छिमी लगायतका ठाउँमा स्याउ, सुन्तला, आलु लगायतका वस्तु राम्रो उत्पादन हुन्छ । तर यि ठाउँ सडक सञ्जालमा नजोडिएकाले उक्त उत्पादनलाई बजार व्यवस्थापनमा चुनौती छ ।

भेरीकरिडोर अन्र्तगत जाजरकोटको तल्लु र रुकुमको आठबिसकोट जोड्ने पुल बनेपछि गोतामकोटका ४,५,६ वडाका किसानलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज हुने विश्वास छ । कृषिसँग आठबिसकोट समृद्धको सपना जोडिएको छ । तर स्थानीय सरकारले कृषि क्षेत्रलाई नै व्यवास्ता गर्दा समृद्धको सपना सपनामै सिमित भएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया