हेटौँडा । हेटौँडा–धरान–चतरा सडकको हेटौंडा– ६, पुतलीबजारमा सडकमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
दुईवटा छुट्टाछुट्टै मोटरसाइकलमा शुक्रबार राति हेटौँडाबाट हर्नामाडीतर्फ जाँदै गरेका हेटौँडा १८ का १९ वर्षिय सुगम दुलाल र १९ वर्षकै विनायक दुलाल गम्भीर घाइते भएका हुन् । घाइते दुवैलाई राति नै पुरानो मेडिकल कलेज भरतपुर पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडकको आधा भाग ढाकिने गरी थुपारिएको गिट्टी तथा बालुवाका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । शुक्रबार राति नै दुर्घटना भई दुई जना गम्भीर घाइते भए पनि सडकबाट निर्माण सामग्री हटाउनेतर्फ सम्बन्धित निकायले चासो देखाएको छैन ।
हात्तिलेटदेखि रंगशालासम्म सडकको दायाँबायाँ नालामा स्ल्याब ढलान गर्नका लागि निर्माण सामग्री थुपारिएको जानकारी आफूले पाएको हेटौँडा– ६ का वडाध्यक्ष विष्णुबहादुर दाहालले बताए । दाहालका अनुसार दुई साताअघि नालामा बच्चा खसेपछि स्थानीयहरुले सडक डिभिजन कार्यालयमा डेलिगेसन गएर तत्काल स्ल्याब बनाउन सडक डिभिजन कार्यालयमा दबाब दिएका थिए ।
स्थानीयको दबाबपछि सडक डिभिजन कार्यालयले सडक किनारमै निर्माण सामग्री थुपारेर स्ल्याब निर्माणको कार्य थालेको हो । दुर्घटनापछि पनि सडक अवरोध हुने गरी निर्माण कार्य जारी राखिएको विषयमा आफूले बुझ्न बाँकी रहेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेशकुमार यादवले बताए ।
‘स्थानीयले तत्काल काम हुनुपर्ने भनेर निरन्तर दबाब दिएपछि हामीले त्यहीँ स्ल्याब निर्माणको काम थालेका हौँ’, यादवले भने । निर्माण सामग्रीलाई व्यवस्थित गरेर दुर्घटनाको जोखिम कम गर्ने विषयमा सम्बन्धित निर्माण व्यवसायीले ध्यान दिनुपर्ने उनको भनाइ छ । तर, दुर्घटना स्थलमा भने आज शनिबार पनि बिहानैदेखि निर्माण सामग्री सडकमै राखेर निर्माण कार्य भइरहेको छ ।
मकवानपुर
प्रतिक्रिया