जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरूमा एचआइभीबाट प्रभावित भएका ४ हजार २८७ जनाले नियमित रूपमा औषधि सेवन गरेर उपचार गराउँदै आइरहेको तथ्यांक एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले प्रदेशभरीका प्रयोशालाकर्मीहरूका लागि आयोजना गरेको ३ दिने प्रशिक्षणको समापन कार्यक्रममा एचआइभी एड्सबाट संक्रमित हुनेहरूको संख्या उपचार गराइरहेको भन्दा अधिक रहेकाले संक्रमितबाट थप संक्रमण फैलिन नदिनका लागि प्रयोगशालाको परीक्षणको महत्वपूर्ण भूमिका हुने जानकारी विज्ञहरूले दिएका छन् ।
मधेस प्रदेस सरकारले मधेसका १३६ पालिकामा नै प्रयोगशाला स्थापना गरेर विभिन्न सर्ने तथा नसर्ने रोगहरूको नियमित रूपमा परीक्षण गर्ने काम गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं बरिष्ठ भाइरोलोजिस्ट डा.श्रवणकुमार मिश्रले जानकारी दिए ।
उनले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रदेशभरिमा स्थापना भएको प्रयोशालाले दीर्घ रोगहरूको पहिचान तथा नियन्त्रणमा काम गरेर प्रदेशवासीलाई स्वस्थ्य राख्ने अभियनमा लागेको बताए ।
मधेस प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा.मनिषकुमार पाण्डेले रोगको पहिचान तथा नियन्त्रणमा प्रयोगशालाको महत्वपूर्ण भूमिका भएको बताउँदै मधेस प्रदेशबासीलाई स्वस्थ्य बनाउनमा प्रयोगशालाको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक सन्तोषकुमार यादव, युनिसेफका चन्द्रनारायण साह, गुणानन्दप्रसाद साह र सहभागी प्रशिक्षार्थीले बोलेका थिए ।
प्रतिक्रिया