सुर्खेत । मेहलकुना अस्पताल कर्णाली प्रदेशमा कर्णाली प्रदेश अस्पताल पछिको दोस्रो ठूलो अस्पताल हो । अस्पतालमा ५० शय्या अस्पताल भनिए पनि अहिले अस्पतालले २५ शय्याबाटै सेवा प्रदान गरिरहेको छ । अस्पताल रेकर्ड अनुसार आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै २५ हजार बढीले सेवा लिएका छन् ।
तीमध्ये करिब ७० प्रतिशत बिरामीले बीमा कार्यक्रममार्फत उपचार गराएको अस्पतालका हेल्थ असिस्टेन्ट प्रमोद जैशीले जानकारी दिए । कर्णाली प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयन प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
असार १७ गते मेहलकुना अस्पताल, गुर्भाकोट नगरपालिका, सुर्खेतमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कर्णाली प्रदेश सभा स्वास्थ्य बीमा कार्यक्रमको सेवाप्रवाहमा देखिएका चुनौतीको विश्लेषण गर्दै प्रभावकारी सेवा प्रवाहका लागि नीतिगत सुधारको सुझावहरु संकलन गर्न तथा स्वास्थ्य बीमा प्रभावकारी वनाउन प्रदेश सरकारको तर्फबाट गर्न सकिने सुधारको लागि पहल गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
साथै, कर्णाली प्रदेश सभा सामाजिक विकास समितिले कर्णाली प्रदेशको स्वास्थ्य ऐनमा हाल गरिरहेको उत्तर विधायकी परिक्षणलाई सहयोग पुगोस् भन्ने उद्देश्यले युएनडीपी संसद सहयोग परियोजना तथा कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिसँगको सहकार्यमा ऋति फाउण्डेसनले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी बीमितहरुले स्वास्थ्य बीमा कार्यक्रम केही झन्झट भए पनि उपचारमा सहज हुने गरेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रमले उपचारमा सहज बनाउनुका साथै स्वास्थ्य संस्थामा समेत सेवाग्राहीको भीड बढ्न थालेको अस्पतालका बीमा फोकल पर्सन प्रमोद जैसीले बताए ।
कार्यक्रममा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बीमा कार्यान्वयनको प्रभावकारिताका विषयमा समितिले अध्ययन गरिरहेको जानकारी गराए । उनले यस किसिमका छलफलबाट उठेका निश्कर्षका आधारमा सरकारलाई जिम्मेवार बनाउनतर्फ लागिने प्रतिवद्धता जनाए । कार्यक्रममा सामाजिक विकास समितिका सदस्यहरु, मेहेलकुना अस्पतालस्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया