दोषीलाई पक्राउ नगरेको भन्दै गरुडामा प्रहरीविरुद्ध प्रदर्शन

गरुडा । आगजनी घटनाका दोषीलाई पक्राउ नगरेको भन्दै पीडित पक्षले गरुडामा प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । गएको जेठ २७ गते रौतहटको वृन्दावन नगरपालिका–४ मा रहेको वडा अध्यक्ष श्यामनन्दन यादवको गाई फर्ममा गरिएको आगजनीको घटनामा संलग्नलाइ पक्राउ पुर्जी जारी हुँदा पनि इलाका प्रहरी कार्यालयले पक्राउ गर्न नसकेको भन्दै पीडित पक्षका समर्थकले प्रहरीविरुद्ध चर्को नारावाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मीसहित १४ जनामाथि दिएको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भए पनि राजनीतिक संरक्षणको कारण प्रहरीले आरोपितलाई जोगाउने प्रयास गरिरहेको पीडित वडा अध्यक्ष यादवले आरोप लगाएका छन् ।

वृन्दावन नगरपालिका–१ रमौली बैरिया बागमती नदीको गिट्टी बलुबाको टेन्डर गरिए पनि नगरप्रमुख कुर्मीले अबैध रूपमा आफ्नो भतिजोलाई कोटेसनमा उत्खनन् गर्न लगाउँदा स्थानीयले गरेको विरोधको रिस साध्न आफ्नो फर्ममा आगजनी गराएको दावीको पीडित पक्षको छ ।

नगरपालिकाले वैशाख महिनामा करिब ३ करोडमा ठेक्का गरेकोमा ठेकेदारलाई उत्खनन् गर्न नदिई नगरप्रमुख कुर्मीले आफ्नो सम्धी नाता पर्ने बैजु पटेललाई २८ लाखमा टेन्डर दिएर उत्खनन् गर्न लगाएको स्थानीयको आरोप छ ।

उत्खनन्को विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच २८ लाख बराबरको उत्खनन् गर्न दिने र एक्साभेटर प्रयोग गर्न नपाउने र त्यसको अनुगमन गर्न ४ सदस्य अनुगमन समिति बनाइएकोमा त्यसको विपरीत कार्य गर्दा स्थानीयद्वारा अवरोध हुँदा विवाद उत्पन्न भएको स्थानीय मुकेश यादवले बताएका छन् ।

प्रतिक्रिया