सप्तरीमा बेरुजुको चाङ

राजविराज । सप्तरी जिल्लामा पालिकाहरूले रित नपुर्याई आर्थिक कारोबार गर्ने प्रवृत्ति बढेको छ । लेखा हिसाबकिताब नराख्ने, मनपरी खर्च गर्ने, अनियमित वा बेमनासिवतवरले खर्च गर्ने, नियम कानुनअनुसार प्राप्त गर्नुपर्ने आम्दानी संकलन नगर्नेजस्ता प्रवृत्ति बढेका कारणले कुल बेरुजु ६ अर्ब १९ करोड ९७ लाख ८२ हजार रुपैयाँ पुगेको छ । जसमध्ये पछिल्लो एकै आर्थिक वर्षमा यस्तो बेरुजु ९४ करोड ८३ लाख रुपैयाँ थपिएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनअनुसार सप्तरीको स्थानीय निकायमा एकै वर्षमा ९४ करोड ८३ लाख १५ हजार बेरुजु थपिएको हो । आर्थिक वर्ष २०७८/०७९ सम्म ५ अर्ब २५ करोड १४ लाख ६७ हजार बेरुजु रहेकामा पछिल्लो आर्थिक वर्षको समेत जोडिँदा यस्तो बेरुजु ६ अर्ब १९ करोड ९७ लाख ८२ हजार पुगेको छ ।

सप्तरीका पालिकामध्ये सबैभन्दा बढी बेरुजु जिल्ला सदरमुकामसमेत रहेको राजविराज नगरपालिकामा देखिएको छ । दोस्रोमा भने कञ्चनरूप नगरपालिका रहेको छ । लेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/०८० मा राजविराज नगरपालिकाको बेरुजु १४ करोड ३४ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

यो समेत राजविराज नगरपालिकाको कुल बेरुजु ७९ करोड ४९ लाख ५ हजार रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा रहेको कञ्चनरूप नगरपालिकाको बेरुजु भने आर्थिक वर्ष २०७९/०८० मा ११ करोड ४६ लाख ६ हजार कायम भएको छ । यो समेत यो नगरपालिकाको कुल बेरुजु ६० करोड ११ लाख ६४ हजार पुगेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा सुरुङा नगरपालिकाको बेरुजु २ करोड ६५ लाख ३१ हजार कायम भएको छ । अघिल्ला वर्षको बाँकीसमेत यो नगरपालिकाको कुल बेरुजु १५ करोड ५३ लाख ५ हजार रुपैयाँ पुगेको छ । स्मरण रहोस्, जिल्लाका १८ पालिकामध्ये सबभन्दा कम बेरुजु भएको पालिका सुरुङ हो ।

त्यसैगरी खडक नगरपालिकाको २०७९/०८० को बेरुजु ५ करोड १८ लाख ७ हजार रुपैयाँ कायम भएको छ । अघिल्ला वर्षको बाँकीसमेत यो पालिकाको कुल बेरुजु २८ करोड २० लाख ३० हजार रुपैयाँ पुगेको छ । यसरी नै हनुमाननगर कंकालिनी नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७९/०८० मा १ करोड ८२ लाख ७५ हजार थपिएको छ । जबकि यसअघि नै यो पालिकाको बेरुजु १९ करोड २४ लाख २६ हजार थियो । अर्कोतर्फ डाक्नेश्वरी नगरपालिकाको बेरुजु पनि आर्थिक वर्ष २०७९/०८० मा ५ करोड ५१ लाख १७ हजार थपिएपछि कुल बेरुजु रकम ३९ करोड ६४ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

बेरुजु बढेका सप्तरीका पालिका यतिमा सीमित छैनन् । बोदेबसाइन नगरपालिकाले पनि आर्थिक वर्ष २०७९/०८० मा २ करोड ३६ लाख रुपैयाँ बेरुजु थपेको छ । अब अघिल्ला वर्षको बाँकीसमेत यो नगरपालिकाको नाममा रहेको बेरुजु रकम २९ करोड ३९ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले शम्भुनाथ नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ६९ लाख ३३ हजार बढेको उल्लेख गरेको छ । यो समेत शम्भुनाथको कुल बेरुजु ४८ करोड ४८ लाख ९८ हजार पुगेको छ ।

यसरी नै सप्तकोसी नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७९/०८० मा ८ करोड ११ लाख ९० हजार बढेपछि हालसम्मको कुल बेरुजु रकम २३ करोड ४ लाख ८७ हजार पुगेको छ । उता राजगढ गाउँपालिकाको बेरुजु आर्थिक वर्ष २०७९/०८० मा ५ करोड ६९ लाख ७५ हजार बढेपछि यो पालिकाको कुल बेरुजु ४१ करोड ९२ लाख ४ हजार कायम भएको छ ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिकाको बेरुजुचाहिँ आर्थिक वर्ष २०७९/०८० मा ४ करोड १८ लाख ४८ हजार बढ्यो । जबकि यसअघि नै यो पालिकाको बेरुजु ३७ करोड २ लाख २४ हजार थियो ।

सप्तरीकै अर्को गाउँपालिका रूपनीको आर्थिक वर्ष २०७९/०८० को बेरुजु ३ करोड २४ लाख ३७ हजार रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यो पालिकाको अघिल्लो आर्थिक वर्षसम्मको बाँकी जोड्दा कुल बेरुजु १८ करोड ४५ हजार पुगेको छ । महदेवा गाउँपालिकाको बेरुजु भने आर्थिक वर्ष २०७९÷०८० मा ३ करोड २४ लाख ४२ हजार कायम रह्यो । यसको अघिल्लो आर्थिक वर्षसम्मको बेरुजु १५ करोड ९० लाख ४६ हजार थियो । अब थपिएर कुल बेरुजु १९ करोड १४ लाख ८८ हजार पुगेको छ ।

यसैगरी छिन्नमस्ता गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बेरुजु ७ करोड १४ लाख ७० हजार कायम भएको छ । यो पालिकाको गत वर्षसम्मको बेरुजु २७ करोड ४५ लाख ७ हजार थियो । वलान बिहुल गाउँपालिकाको आर्थिक वर्ष २०७९÷/०८० को बेरुजु ९ करोड ५९ लाख ३६ हजार कायम भएको छ । अब यो पालिकाको कुल बेरुजु ३७ करोड ७ लाख २४ हजार पुगेको छ ।

यसरी नै तिरहुत गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बेरुजु ४ करोड ३ लाख ५८ हजार कायम भएको छ । अब यो पालिकाको कुल बेरुजु २९ करोड ८४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । सप्तरीकै अग्निसाइर कृष्णासवरण गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण गर्दा ३ करोड ५३ लाख ८९ हजार बेरुजु कायम भएको छ । यो पालिकाको कुल बेरुजु अब २५ करोड ५० लाख २८ हजार पुगेको छ ।

प्रतिक्रिया